काठमाडौ । नेपालमा विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स आप्रवाह घट्न थालेपछि सरकारको ध्यान क्रिप्टोकरेन्सी तथा क्रिप्टोजस्तै नेटवर्किङ कारोबारमा जान थालेको छ । अर्थ मन्त्रालयले रेमिट्यान्स घट्नुको पछाडि क्रिप्टोकरेन्सी तथा नेटवर्किङ कारोबारमा विदेशबाटै लगानी भएको हुनसक्ने आशंका गरेको छ ।
अहिले प्रधानमन्त्री महातहत रहेको राजस्व अनुसन्धान विभाग पनि क्रिप्टोकरेन्सी तथा नेटवर्किङ कारोबारको अनुसन्धानमा सक्रिय भएको छ । विदेशी मुद्राको अपचलन भएको आशंकासहित विभागले यस्ता अवैध डिजिटल करेन्सी सम्वन्धी कारोबारको अनुसन्धान गरिरहेको छ । विभागको अनुसन्धानबाट बैंक वित्तीय संस्थाहरु मार्फत नै यस सम्वन्धी कारोबार हुने गरेको तथ्य बाहिरिएको छ । एक महिनाको अध्ययन पश्चात राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको भन्दै एकैघर परिवारका ४ जना व्यक्ति विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
कैलाली स्थायी घर भई काठमाडौं बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का र दिनेशका केटी साथी अनिता धितालविरुद्ध विनियम ऐनविरुद्ध कारोबार गरेको कसूरमा विभागले मुद्दा दर्ता गरेको जनाएको छ ।
उनीहरुले सामूहिक रुपमा मोबाइल एप्स ई–स्क्रिल र बाइनान्समार्फत रकम लोड/अनलोड गरी अमेरिकी डलर सटही गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।
राजस्व अनुसन्धान प्रतिवादी दिनेशको ग्लोबल आईएमईको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ, भगवतीको एनआईसी एसिया बैंकको खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय, लक्ष्मी धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ र नरबहादुरको ग्लोबल आईएमईको खाताबाट १ करोड ६४ लाख ११ हजार १६५ गरी कुल ३७ करोड ६४ लाख ११ हजार १६५ रुपैयाँ बाराबरको (अमेरिकी डलर ३१ लाख २७ हजार ८९६) बिगो दाबी गरेको छ ।
विभागले यसको जालो अझै धरै फराकिलो भए पनि बैंक तथा वित्तीय संस्थाले तथ्याङ्कमा सहयोग नगरेको जनाएको छ । ति कारोबारीहरुले केवाईसी फारममा खुलाएको कारोबारको रकम तथा सीमा र एक महिनासम्मको वित्तीय विवरण मात्रै उपलब्ध गराएको विभागले जनाएको छ । ‘विगत ३ महिनादेखिको उनीहरुले गरेको कारोबार विवरण प्राप्त भइदिएको भए यसमा संलग्न गिरोह नै पत्ता लाग्ने थियो’, अनुसन्धानमा संलग्न विभागका एक अधिकारीले भने ।
‘कारोबार भएका बैंक वित्तीय संस्थाबाट निकै दुःख गरेर सो तथ्याङ्क प्राप्त भयो । एक महिनाको विवरणबाटै नै ३७ करोड रुपैयाँ कारोबार गरेको देखियो । तीन महिनासम्मको विवरणको अनुसन्धान गर्न पाएको भए थप गराईमा पुग्न सकिन्थ्यो’, उनले भने । विभागको यस अनुसन्धानबाट बैंक वित्तीय संस्थाको मिलेमतोमा नै यस्तो कारोबारमा लगानी भइरहको शंका उत्पन्न गराएको छ ।
कारोबारीको सजाय कम गराउन तथा कारोबारीको संरक्षणका लागि बैंक वित्तीय संस्थाले विवरण उपलव्ध नगराएको हुनसक्ने विभागको बुझाई छ ।
विश्वसनियता कायम राख्न आफ्ना ग्राहकको सुचना गोप्य रोख्नुपर्ने दबाब बैंक वित्तीय संस्था भएकाले सम्पुर्ण विवरण उपलव्ध गराउन नसकिएको एक बैंकर बताउँछन् । राष्ट्र बैंकको अनुमति लिएर आउने अनुसन्धानकारी निकायलाई सक्दो सहयोग गर्दैआएको उनले बताए ।
बैंकिङ च्यानल मार्फत भइरहेको यस्ता कारोबारप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको र नियन्त्रण गर्नका लागि राष्ट्र बैंक तथा सरकारसँग आवश्यक समन्वय गरेर अगाडी बढ्ने ति बैंकरले बताए ।
राष्ट्र बैंकका अधिकारीहरु भने विभागले अर्थ मन्त्रालयमार्फत समन्वय गरेमा तथ्याङ्क पाउन गाह्रो नपर्ने बताउँछन ।
‘अर्थमातहत राष्ट्र बैंकलाई तथ्याङ्क मागेमा चाहिएको तथ्याङ्क पाउन गाह्रो छैन’, ति अधिकारीले भने ‘यस्ता अवैध कारोबारलाई राष्ट्र बैंकलेसमेत रोक्न चाहिरहेकाले अनुसन्धान गर्ने निकायलाई सहयोग नगर्ने भन्ने कुरै आउँदैन ।’
क्रिप्टोकरेन्सी तथा क्रिप्टोकरेन्सी प्रकारकै नेटवर्किङ कारोबारमा सामान्य व्यक्तिदेखि ठुला व्यापारिक घरनाको समेत संलग्नता रहेको सरकारकै विभिन्न निकायले गरेको अनुसन्धानबाटै खुलेको छ । ठुला व्यवसायीको संलग्नता देखिएपछि सरकारले कारबाही गर्नेबाट पछाडी हट्ने गरेको छ ।
राष्ट्र बैंक आफ्नैले शंकास्पद कारोबार ठानेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा सम्वन्धित अनुसन्धानकारी निकायको सहयोगमा बैंकिङ अपराध तथा सम्पति शुद्धिकरण सम्वन्धि मुद्दा अगाडी बढाउने गरेको छ ।
राष्ट्र बैंकले वित्तीय तथा बैंकिङ कसुर र सम्पत्ति शुद्धिकरणका मुद्दाहरु राष्ट्र बैंकको कानुनी महाशाखा तथा वित्तीय सुचना युनिटमार्फत सम्वन्धित अनुसन्धानकारी निकायहरुलाई उपलव्ध गराउन सक्छ । तर , अनुसन्धान गर्ने निकायले भने अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकमा समन्वय गर्नुपर्ने व्यवस्था रहेको छ ।
अर्थको अनुरोधमा नेपाल राष्ट्र बैंकले आइतबार विभिन्न क्रिप्टोकरेन्सी तथा नेटवर्किङ कारोबार गर्ने कम्पनीको नाम नै तोकेर यस्ता कारोबारमा संलग्नलाई कारबाही गर्ने सुचना सार्वजनिक थियो ।
राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसहित विभिन्न नेटवर्किङ कारोबारमा संलग्न स्वदेशी तथा विदेशी नागरिकसहित विदेशमा रहेका नेपाली नागरिकलाई पनि कारबाही गरिने सुचना निकालेको छ । सामान्यतया क्रिप्टोकरेन्सी सम्वन्धी ठुलाहरु उजुरीहरु सीआईबी र साना उजुरीहरु प्रहरी आफैले अनुसन्धान गरी मुद्दा चलाउदै आएको छ ।
के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भनेको डिजिटल अर्थात भर्चूअल मुद्रा हो । यसको अस्तित्व सन २००९ देखि आएको हो । भौतिक रूपमा देख्न वा छुन नसके पनि बजारमा यसको मूल्य तोकिएको हुन्छ। क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्र्। भर्चुअल कारोबार हुने भएकाले यसलाई नियमन गर्ने कुनै निकाय हुँदैन । कम्प्युटरहरूमा रहेको राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुने गरेको पाइएको छ ।
क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानीका साथै कम्प्युटर तथा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ ।
लगानीकर्ता ठगिने र अवैधानिक कारोबारले स्वदेशी पुँजी पलायन हुने भएपछि नेपाललगायत अधिकाँश मुलुकले क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिइएको छैन । नेपालको कानुनले क्रिप्टोकरेन्सी कारोबारलाई कानुनले चिन्दैन। यद्यपी नेपाल राष्ट्र बैंकले भने डिजिटल मुद्राको सम्भाव्यताको अध्ययन गरिरहेको बताएको छ।
भर्चुअल मुद्राको कारोबार बढ्दा अर्थतन्त्रमै असर पार्नुका साथै वित्तीय प्रणालीलाई जोखिमतर्फ धकेल्ने संभावना रहन्छ । नेपाल जस्तो विदेशी मुद्रा सञ्चिती कम रहेको देशमा यो कारोबार खुला गर्दा झनै जोखिम बढ्ने निश्कर्ष केन्द्रिय बैंकको छ ।
अहिले चीन, भारत इजिप्ट, इराक, कतार, ओमान, बङ्गलादेशमा क्रिप्टोकरेन्सी पूर्णरुपमा प्रतिबन्धित छ। यस्तै प्रतिवन्ध भए पनि भारतमा १ करोड ५० लाख भन्दा बढी क्रिप्टोकरेन्सको कारोबारी रहेको बताइएको छ । ती कारोबारीहरुले भारत सरकारबाट स्पष्टता खोजिरहेका छन ।
यो पनि हेर्नुहोस
राजस्व अनुसन्धान विभागद्वारा क्रिप्टो कारोबारी ४ जनाविरुद्ध मुद्दा दर्ता, ३७.६४ करोडबराबरको बिगो दाबी
क्रिप्टो नेटवर्किङ कारोबारीलाई राष्ट्र बैंकले दियो कारबाहीको चेतावनी, विदेशी नागरिकलाई समेत नछाडिने
नेपालीले विदेशमा कमाएको रकम क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंका
म्याकडोनाल्डका बर्गर ब्वाई क्रिप्टोकरेन्सीमार्फत खर्बपति, कमाए बिल गेट्सको जति सम्पत्ति
ख्यालठट्टामै सुरु भएको क्रिप्टोः शिवा इनु, १५ महिनामै १ रुपैयाँबराबर ४ लाखको भ्यालू
सरकारले गैरकानुनी मानेको हाइपर फन्डबाट अर्बौं बाहिरिँदै, सयौं संगठित, २ जना पक्राउ
भारतमा ठगी गरेर क्रिप्टोमार्फत चीनमा पैसा पठाउने तीन नेपाली हैदरावादमा पक्राउ
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार बढ्दै, ९ जनालाई पक्राउ गरी सीआईबीले थाल्यो अनुसन्धान