काठमाडौं । पछिल्लो समय नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) मा निरन्तर गिरावट आइरहेको छ । एकातिर वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्ने छ भने अर्कोतिर उनीहरुले कमाएर पठाउने रेमिट्यान्स निरन्तर घटिरहेको छ ।
रोजगारीमा जानेको संख्या बढ्ने तर, उनीहरुले पठाउने रेमिट्यान्स घट्न थालेपछि विदेशमा काम गर्न जाने नेपालीहरुले उतै डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) लगायतका क्षेत्रमा लगानी गरेको आशंका सरकारले गरेको छ ।
केही समयअघिसम्म सरकारले रेमिट्यान्स हुण्डीमा प्रयोग भएको निश्कर्ष निकालेको थियो । निजी क्षेत्रले ९५ प्रतिशत आयात सही तरिकाबाट हुने थालेको तथ्यांक सरकारलाई दिएपछि विदेशमा गएका कामदार आफैले क्रिप्टोकरेन्सीमा लगानी गरेको हुनसक्ने आशंका गरिएको छ ।
अहिले विदेश जाने अधिकाँश कामदार पढेलेखेका छन् । उनीहरु क्रिप्टोबाट हुने आम्दानीमा पनि राम्रोसँग जानकार भएका कारण त्यहाँबाट हुने आम्दानी डिजिटल करेन्सीमा लगाएको हुन सक्ने नेपाल राष्ट्र बैंकको आंशका छन् ।
‘जुन तरिकाले रेमिट्यान्स निरन्तर घटिरहेको छ, यसका पछाडि उनीहरुले उतै रकम लगानी गरेको हुन सक्छ,’ केन्द्रीय बैंकका एक अधिकारी भन्छन्, ‘नेपालबाटै लुकिछिपी क्रिप्टोकरेन्सीमा नेपालीले लगानी गरिरहेका अवस्था छ । रोजगार मुलुकमा त खुलेआम लगानी गर्न पाइन्छ । त्यही भएर कमाएको धेरै हिस्सा त्यतै लगानी गरेको हुन सक्छ ।’
नेपालमा क्रिप्टोकरेन्सीमा लगानी गर्न कानुनले रोकेको छ । तैपनि छिटपूmट रुपमा यहाँबाट लगानी भइरहेको प्रहरी अनुसन्धानमा भेटिएको छ ।
रेमिट्यान्स पठाउँदा उनीहरुले पाउने सुविधा भन्दा क्रिप्टोबाट हुने आम्दानी बढी भएकाले उनीहरुको आकर्षण त्यतैतिर बढेको हुन सक्ने राष्ट्र बैंकको आशंका छ ।
केन्द्रीय बैंकको आशकामाथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पनि सहमत छन् । पछिल्लो समय पढेलेखेका व्यक्तिहरु पनि रोजगारीका लागि मलेशिया, खाडी तथा मध्यपूर्वी देशमा जान थालेका छन् । त्यही भएर उनीहरु नेपालमा रेमिट्यान्स पठाउन भन्दा पनि त्यही लगानी गरेका हुन सक्ने उनको अनुमान छ ।
केन्द्रीय बैंकले प्रकाशित गरेको पाँच महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ देशभित्र भित्रिएको छ । जबकी गत वर्षको सोही अवधिमा ११ प्रतिशतले बढेको थियो । गत वर्ष सोही अवधिमा पनि मध्यपूर्वीलगायत देशमा कोरोना संक्रमणको दर उच्च थियो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ ।
गत वर्ष सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।