काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकारमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्ने भएका छन् । केबलकारको विकासकर्ता मुक्तिनाथ दर्शनले विदेशी बैंक तथा वित्तीय संस्थासँग छलफल अघि बढाए पनि अन्ततः नेपाली बैंकहरुबाट ऋण लिने भएको छ ।
मुक्तिनाथमा नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा ७ बैंक तथा वित्तीय संस्था ऋण लगानी गर्न तयार भएका छन् । ऋण लगानीको सहनेतृत्व भने कर्मचारी सञ्चय कोषले गर्ने भएको छ ।
सहवित्तीयकरणअन्र्तगत नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छे« बैंक, नेपाल बंगलादेश बैंक र कृषि विकास बैंकले लगानी गर्ने प्रारम्भिक सहमति भएको छ । यस्तै मुक्तिनाथमा लगानी गर्न सानिमा बैंकले पनि चासो देखाएको बुझिएको छ ।
केबलकारमा बैंकहरुले २८ अर्ब ४० करोड रुपैयाँ दीर्घकालीन ऋण लगानी गर्ने प्रारम्भिक सहमति भएको कुरा मुक्तिनाथ स्रोतले बताएको छ । प्रारम्भिक चरणको कुरा भएकाले अन्तिम सम्झौता हुन समय लाग्ने स्रोतको भनाइ छ । लगानी बोर्ड र मुक्तिनाथबीच आयोजना विकास सम्झौता (पीडीए) भएपछि मात्र बैंकहरुले लगानी गर्ने छन् ।
आयोजना सम्पन्न गर्न ५४ अर्ब रुपैयाँ लाग्ने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ । जसअनुसार १५ अर्ब ऋणपत्र (डिबेन्चर) निष्कासन र १० अर्ब ६० करोड रुपैयाँ स्वपुँजीको संरचना हुने गरी लगानी मोडालिटी बनाइएको छ । निफ्रा र सञ्चय कोषले मात्रै १४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समयमा विश्व बजारमा डलर बलियो हुँदै गएपछि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण महंगो हुने देखिएपछि स्वदेशी लगानीमा मुक्तिनाथ केवलकार निर्माण गर्न लागेको स्रोतको भनाइ छ । अहिले १ डलर बराबर १२१ रुपैयाँ पुगेको छ । अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाउने हल्ला चलेपछि विश्व बजारमा डलर थप बलिलो भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न वन तथा वातावरण मन्त्रालयले सहमति दिएपछि मुक्तिनाथले क्षेत्र निर्धारण (स्कोप) र कार्यादेश (टर्म अफ रिफरेन्स) स्वीकृत गरेको छ । हाल जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र ३ वटा स्टेसनका लागि मात्र जग्गा अधिग्रहण गर्ने काम बाँकी रहेको कम्पनीले जनाएको छ ।
हिउँ परेकाले बाँकी जग्गा अधिग्रहणको काम रोकिएको छ । असारसम्म प्राविधिक काम सकेर आउँदो दसैंअघि नै केबलकारको शिलान्यास गर्ने योजना रहेको कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।
ईआईए सकिनासाथ लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) हुनेछ । काम सुरु गरेको ६ महिनामा ईआईएको काम सक्ने लक्ष्य मुक्तिनाथको छ । केबलकार परियोजनालाई लगानी बोर्डले सहजीकरण गरिरहेको छ ।
मुक्तिनाथले केबलकारको डीपीआर तयार पारी गत वर्षको कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । यो वर्ष पीडीए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी वर्षदेखि केबलकार संरचनाको निर्माण थाल्ने योजना मुक्तिनाथ दर्शनको छ ।
कोरोना महामारीले केबलकारको काम अवरुद्ध हुँदा ढिलाइ भएको हो । यद्यपि काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केबलकार सञ्चालन गर्ने लक्ष्य कम्पनीको छ ।
करिब ४४ अर्ब ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ । लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ । केबलकारको प्रतिफल १३ प्रतिशत देखिएको छ । केबलकारमा लगानी गर्न स्वदेशी विभिन्न बैंकहरूसँग छलफल भइरहेको छ । पीडीएपछि मात्र बैंकहरूसँग ऋण लगानी सम्झौता हुनेछ ।
केबलकारमा टप टु बटन १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्नेछ । ५ वटा स्टेसनमा अत्यावश्यक भएमा मात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । यद्यपि, एउटा टिकटको समयावधि ७ दिनको हुनेछ र सो दिनभित्र यात्रुहरु फर्किसक्नुपर्नेछ ।
कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७७६ वटा गोन्डा राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ ।
यस्तै केबलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किमि, तेस्रो घोडेपानीदेखि तातोपानीसम्म १२.७३ किमि, चौथो तातोपानी–लेते १६.४४ किमि रहनेछ । यस्तै पाँचौं लेतेदेखि जोमसोमसम्म २३.९२ किमि, छैटौं जोमसोमदेखि कागबेनी ८.२४ र सातौं कागबेनीदेखि रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ ।
वार्षिक ३६ लाख यात्रुले यात्रा गर्ने अनुमान गरिएको मुक्तिनाथ केबलकारमा सोही क्षमता बराबरको गोन्डला राखिनेछ । केबलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ ।
विश्वकै लामो लामो र ठूलो केबलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने डीपीआरमा उल्लेख छ । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
यो पनि हेर्नुहोस
विश्वकै लामो मुक्तिनाथ केबलकारको ईआईए सुरु, वैशाखमा शिलान्यासको तयारी
विश्वकै लामो मुक्तिनाथ केबलकारको पीडीए सुरु, विदेशी बैंकबाट लगानी ल्याउने तयारी
मुक्तिनाथ दर्शनले बुझायो विश्वकै लामो केवलकारको डीपीआर, लगानी बोर्डमा अध्ययन हुँदै
विश्वकै लामो केवलकार मुक्तिनाथको डीपीआर तयार, बनाउन ५१ अर्ब लाग्ने
विश्वकै लामो मुक्तिनाथ केवलकारको लागत साढे ४३ अर्ब, ४ महिनामा डीपीआर सकिने, १ वर्षभित्र निर्माण थाल्ने योजना