काठमाडौं । प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केवलकारको निर्माण लागत ४३ अर्ब ५० करोड रुपैयाँ तय भएको छ । प्रर्वद्र्धक कम्पनी मुक्तिनाथ दर्शन प्राइभेट लिमिटेडले गरेको संभाव्यता अध्ययनले सो रकम लाग्ने देखाएको हो ।
यसअघि ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । यो लागत निर्माण अवधिको ब्याज (आईडीसी) बाहेकको हो । आईडीसी समेत जोड्दा लागत अझ बढ्ने छ ।
आगामी ४ महिनाभित्र केवलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । ढिलोमा ४ महिनाभित्र केवलकारको डीपीआर आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीधर सापकोटले बताए ।
उनले डीपीआर आएपछि आयोजना बनाउन लगानी जुटाई एक वर्षभित्र केवलकारको काम सुरु गर्ने योजना रहेको उनले सुनाए । मुक्तिनाथले आयोजनाको डीपीआर तयारीका लागि ३५ करोड रुपैयाँ खर्च गरेको छ ।
सरकारले समयमा निर्णय र सहजीकरण भयाे भने १ वर्षभित्र केवल कार निर्माण सुरु गर्ने उनको भनाई छ । केवलकार नेपालमा नयाँ वित्तीय मोडालिटीबाट लगानी जुटाइने भएको छ । उनका अनुसार क्राउड फन्डिङ मोडालिटीबाट लगानी जुटाउने तयारी छ ।
आधा रकम उपकरण आपूर्तिकर्ताबाट १० वर्षसम्म उधारोमा खरिद गर्ने, बाँकी विदेशी बैंक र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाइने उनले जानकारी दिए ।
क्राउड फन्डको एजेन्सी र ननफण्डेड ग्यारेन्टी नेपाल बैंक र नेपाल बंगलादेश बैंकबाट हुने संभावना रहेको छ । यी दुई बैंकसंग हाल छलफल चलिररहेको सापकोटाले जानकारी दिए ।
मुक्तिनाथ केवलकार विश्वकै युनिक आयोजना भएको उनले जानकारी दिए । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । केवलकारको कुल ८३.६५ किलोमिटर लम्बाइ रहने छ । केवलकारका ६ वटा स्टेशन रहनेछन ।
पहिलो स्टेशन वीरेठाँटीमा हुनेछ । वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर हुने छ । दोस्रो स्टेशन घोडेपानीदेखि तातोपानीसम्म १२.७३, तेस्रो तातोपानी लेते १६.४४, चौथो लेतेदेखि जोमसमसम्म २३.९२, चौथो जोमसोमदेखि कागवेनी ८.२४ र कागवेनीदेखि रानीपौवा मुक्तिानाथसम्म ९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
प्रत्येक स्टेशनमा रोकिने व्यवस्था हुने छ । प्रत्येक स्टेशनमा वास बस्नका लागि होटल खुल्ने छन । एकैदिन वा विस्तारै मुक्तिनाथसम्म पुग्न सकिने छ । लगानी बोर्डको ३० औं बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो ।
गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरी र दोलखाको कालिञ्चोकमा केवलकार सञ्चालनमा छन । यस्तै मौलाकाली, स्वर्गद्धारीलगायत एक दर्जन स्थानमा केवलकार निर्माणको काम सुरु भइसकेको छ ।