काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केवलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । प्रवद्र्धक कम्पनी मुक्तिनाथ दर्शन प्राइभेट लिमिटेडले डीपीआर तयार पारेको हो ।
डीपीआरको अहिले विभिन्न भागको ‘रिभ्यू’ भइरहेको कम्पनी स्रोतले जानकारी दियो । रिभ्यु सकेपछि तिहार लगत्तै लगानी बोर्डमा डीपीआर बुझाउने तयारी कम्पनीको छ । डीपीआर बुझाएपछि आयोजना विकास सम्झौता (पीडीए) को प्रक्रिया अघि बढ्ने दाबी कम्पनीको छ ।
यो पनि पढ्नुस
विश्वकै लामो मुक्तिनाथ केवलकारको लागत साढे ४३ अर्ब, ४ महिनामा डीपीआर सकिने, १ वर्षभित्र निर्माण थाल्ने योजना
डीपीआरले केवलकार पूर्वाधार बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलरबराबर ११७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुने कम्पनी स्रोतको भनाइ छ । यसअघिको संभाव्यता अध्ययनअनुसार केवलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
उनले डीपीआर आएपछि आयोजना बनाउन लगानी जुटाई एक वर्षभित्र केवलकारको काम सुरु गर्ने योजना कम्पनीको छ । केवलकार नेपालमा नयाँ वित्तीय मोडालिटीबाट लगानी जुटाइने भएको छ । ‘क्राउड फन्डिङ’ मोडालिटीबाट लगानी जुटाउने तयारी छ ।
आधा रकम उपकरण आपूर्तिकर्ताबाट १० वर्षसम्म उधारोमा खरिद गर्ने, बाँकी विदेशी बैंक र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने तयारी मुक्तिनाथको छ । क्राउड फन्डको एजेन्सी र ‘ननफण्डेड ग्यारेन्टी’ नेपाल बैंकबाट हुने संभावना छ ।
केवलकारका लागि ७५ प्रतिशत लगानी जुटिसकेको कम्पनीले जानकारी दिएको छ । ५५ प्रतिशत विदेशी ऋण, २० प्रतिशत लगानी जुटेको कम्पनीको भनाई छ । थप ऋणका लागि स्थानीय बैंकहरुसंग छलफल भइरहेको छ । ५५ प्रतिशत कर्जाका लागि समझदारीपत्र (एमाओयू) मा हस्ताक्षर भइरहेको छ ।
मुक्तिनाथ केवलकार विश्वकै ‘युनिक’ आयोजना हो । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । केवलकारको लम्बाइ ८३.६५ किलोमिटर रहने छ । केवलकारका ६ वटा स्टेसन रहने प्रस्ताव गरिएको छ । प्रत्येक स्टेसनमा होटल बन्ने छन् ।
पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर हुनेछ । दोस्रो स्टेसन घोडेपानीदेखि तातोपानीसम्म १२.७३, तेस्रो तातोपानी लेते १६.४४, चौथो लेतेदेखि जोमसोमसम्म २३.९२, चौथो जोमसोमदेखि कागवेनी ८.२४ र कागवेनीदेखि रानीपौवा मुक्तिानाथसम्म ९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
प्रत्येक स्टेसनमा रोकिने व्यवस्था हुनेछ । प्रत्येक स्टेसनमा बास बस्नका लागि होटल खुल्ने छन् । एकैदिन वा बिस्तारै मुक्तिनाथसम्म पुग्न सकिनेछ । लगानी बोर्डको ३० औं बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो ।
गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरी र दोलखाको कालिञ्चोकमा केवलकार सञ्चालनमा छन् । यस्तै मौलाकाली, स्वर्गद्वारीलगायत एक दर्जन स्थानमा केवलकार निर्माणको काम सुरु भइसकेको छ ।
नेपाल राष्ट्र बैंकले पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि पुनर्कर्जा दिने नीति लिएको छ । केवलकार, होटल र रिसोर्टलगायत अन्य मनोरञ्जन पूर्वाधारको विकासमा लगानीकर्ताहरूलाई केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउनेछ ।
यी पर्यटकीय पूर्वाधारमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशतमा दिएर उनीहरूले बढीमा ५ प्रतिशतमा पुनर्कर्जा लगानी गर्न पाउने छन् ।