काठमाडौं । विश्वकै सबैभन्दा लामो केबलकार मुक्तिनाथ दर्शन सञ्चालनका लागि आयोजना विकास सम्झौता (पीडीए) प्रक्रिया सुरु भएको छ । लगानी बोर्ड र केबलकार कम्पनी मुक्तिनाथ दर्शनबीच पीडीएका लागि छलफल सुरु भएको हो । पीडीए भएपछि मात्र बैंक तथा वित्तीय संस्थाहरुले आयोजनामा लगानी गर्छन् ।
पीडीएका लागि तयारी भइसकेको विकासकर्ता मुक्तिनाथ दर्शनका प्रवन्ध निर्देशक श्रीधर सापकोटाले बताए । उनले आगामी ६ महिनाभित्र पीडीए सम्पन्न गरी लगानी जुटाएर आगामी वर्षदेखि निर्माण थाल्ने योजना रहेको सुनाए । ‘लगानीका लागि विभिन्न देशका बैंकहरुसंग भएको छलफल सहमतिको नजिक पुगिसकेको छ’ उनले भने ‘पीडीए भएपछि सोहीअनुसार आयोजनामा बैंकहरुले लगानी गर्नेछन ।’
यो पनि हेर्नुहोस
विश्वकै लामो केवलकार मुक्तिनाथको निर्माण आगामी वर्षदेखि, ५३ अर्ब लगानी हुने
कम्पनीले केबलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी लगानी बोर्डमा बुझाइसकेको छ । यो वर्ष पीडीए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी २०७८ पुसदेखि केवलकार संरचनाको निर्माण थाल्ने योजना मुक्तिनाथ दर्शनको छ ।
मुक्तिनाथले केवलकारको डीपीआर तयार पारी कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केवलकार सञ्चालन गर्ने लक्ष्य छ ।
यो पनि हेर्नुहोस
मुक्तिनाथ दर्शनले बुझायो विश्वकै लामो केवलकारको डीपीआर, लगानी बोर्डमा अध्ययन हुँदै
डीपीआरले केबलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलरबराबर ११७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुनेछ । यसअघिको संभाव्यता अध्ययनअनुसार केवलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
केवलकारको सिभिल संरचना निर्माणको काम नेपाली निर्माण व्यवसायीले पाउने भएका छन । इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति विदेशीले पाउने भएको छ । विदेशी कम्पनी पनि छनोट भइसकेको छ ।
यो पनि हेर्नुहोस
विश्वकै लामो केवलकार मुक्तिनाथको डीपीआर तयार, बनाउन ५१ अर्ब लाग्ने
करिब ४३ अर्ब बैंकहरूबाट ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ । लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ ।
२० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ । केवलकारको पूर्वाधार बनाउन कम्पनीले ‘क्राउड फन्डिङ’ मोडालिटीबाट लगानी जुटाउने तयारी गरेको जनाएको छ । केबलकारको प्रतिफल १३ प्रतिशत देखिएको छ ।
काँस्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७७६ वटा गोन्डा राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केवलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ । केवकारको प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ ।
केबलकारमा टप र वटन गरी १९ वटा स्टेसन हुनेछ । यसमध्ये ८ वटा स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्छ । ५ वटा स्टेसनमा अत्यावश्यक भएमा मात्र ओर्लिन पाउने र ११ वटा स्टेसनमा बासबसेर जान पाइने व्यवस्था छ । यद्यपि, एउटा टिकटको ७ दिन समय हुनेछ । ७ दिनभित्र फर्किनुपर्छ ।
वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । यही क्षमताको गोन्डला राखिने प्रस्ताव गरिएको छ । केबलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली चाहिने भएको छ ।
लामो र ठूलो केवलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने डीपीआरमा उल्लेख छ । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
केबलकारको पहिलो स्टेसन बीरेठाँटीमा हुनेछ । बीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर हुनेछ । दोस्रो स्टेसन घोडेपानीदेखि तातोपानीसम्म १२.७३, तेस्रो तातोपानी लेते १६.४४, चौथो लेतेदेखि जोमसोमसम्म २३.९२, चौथो जोमसोमदेखि कागवेनी ८.२४ र कागबेनीदेखि रानीपौवा मुक्तिानाथसम्म ९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।