काठमाडौं । मुक्तिनाथ दर्शन प्राइभेट लिमिटेडले विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केवलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाएको छ ।
कम्पनीले डीपीआर हालै मात्र बुझाएको बोर्डले जानकारी दिएको छ । डीपीआर बुझाएकाले आयोजना विकास सम्झौता (पीडीए) को प्रक्रिया अघि बढ्नेछ । बोर्डले डीपीआरको अध्ययन गरिरहेको छ ।
डीपीआरले केवलकार पूर्वाधार बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलरबराबर ११७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो ।
डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुने कम्पनीको भनाइ छ । यसअघिको संभाव्यता अध्ययनअनुसार केवलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
यो पनि हेर्नुहोस
विश्वकै लामो केवलकार मुक्तिनाथको डीपीआर तयार, बनाउन ५१ अर्ब लाग्ने
केवलकारको पूर्वाधार बनाउन कम्पनीले ‘क्राउड फन्डिङ’ मोडालिटीबाट लगानी जुटाउने तयारी गरेको मुक्तिनाथले जनाएको छ ।
आधा रकम उपकरण आपूर्तिकर्ताबाट १० वर्षसम्म उधारोमा खरिद गर्ने, बाँकी विदेशी बैंक र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने तयारी मुक्तिनाथको छ । क्राउड फन्डको एजेन्सी र ‘ननफण्डेड ग्यारेन्टी’ नेपाल बैंकबाट हुने संभावना छ ।
केवलकारका लागि ७५ प्रतिशत लगानी जुटिसकेको कम्पनीले जानकारी दिएको छ । ५५ प्रतिशत विदेशी ऋण, २० प्रतिशत लगानी जुटेको कम्पनीको भनाइ छ । थप ऋणका लागि स्थानीय बैंकहरुसँग छलफल भइरहेको छ । ५५ प्रतिशत कर्जाका लागि समझदारीपत्र (एमाओयू) मा हस्ताक्षर भइसकेको छ ।
मुक्तिनाथ केवलकार विश्वकै ‘युनिक’ आयोजना हो । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । केवलकारको लम्बाइ ८३.६५ किलोमिटर रहने छ । केवलकारका ६ वटा स्टेसन रहने प्रस्ताव गरिएको छ । प्रत्येक स्टेसनमा होटल बन्ने छन् ।
पहिलो स्टेसन बीरेठाँटीमा हुनेछ । बीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर हुनेछ । दोस्रो स्टेसन घोडेपानीदेखि तातोपानीसम्म १२.७३, तेस्रो तातोपानी लेते १६.४४, चौथो लेतेदेखि जोमसोमसम्म २३.९२, चौथो जोमसोमदेखि कागवेनी ८.२४ र कागबेनीदेखि रानीपौवा मुक्तिानाथसम्म ९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
प्रत्येक स्टेसनमा रोकिने व्यवस्था हुनेछ । प्रत्येक स्टेसनमा बास बस्नका लागि होटल खुल्ने छन् । एकैदिन वा बिस्तारै मुक्तिनाथसम्म पुग्न सकिनेछ । लगानी बोर्डको ३० औं बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो ।
गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरी र दोलखाको कालिञ्चोकमा केवलकार सञ्चालनमा छन् । यस्तै मौलाकाली, स्वर्गद्वारीलगायत एक दर्जन स्थानमा केवलकार निर्माणको काम सुरु भइसकेको छ ।
नेपाल राष्ट्र बैंकले पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि पुनर्कर्जा दिने नीति लिएको छ । केवलकार, होटल र रिसोर्टलगायत अन्य मनोरञ्जन पूर्वाधारको विकासमा लगानीकर्ताहरूलाई केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउनेछ ।