काठमाडौं । सहकारीमा मात्र नभएर अन्य क्षेत्रमा पनि ठगी गरेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकाविरुद्ध थप उजुरी पर्न थालेको छ । हाउजिङ किनेर नपाएका लगायत अन्य पीडितहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिन थालेका छन् ।
सिभिल सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताहरुको मात्र उजुरी आएकोमा अहिले सिभिल होम्सको पैसा भुक्तानी गरेर पनि लामो समयदेखि घर नपाएका, सिभिल ट्रेड सेन्टर (सीटीसी मल) मा पसल कबल खरिद गरेर पनि नपाएका, सिभिल भवन बनाउँदा उधारोमा समान दिएका व्यापारी र जग्गा भाडामा लिएर भवन बनाएको तर करार ऐनअनुसार भाडा नपाएका पीडितले अहिले सीआईबीमा उजुरी दिन थालेका हुन् ।
सिभिल सहकारीका बचतकर्ताका साथै अन्य क्षेत्रमा लगानी गरेर पीडित बनेकाहरुले धमाधम उजुरी दिन थालेको सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बताए । उनले पहिलो चरणमा वचतकर्ताको उजरीको अनुसन्धान पूरा गरेर मात्र अन्य क्षेत्रका पीडितको काम अघि बढाउने जानकारी दिए ।
सिभिल सहकारीका पीडित बचतकर्ताको संख्या १ हजार ४९९ जनाबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको उनले सुनाए । सहकारीमा रकम जम्मा गरेर नपाएका १ हजार ९०० जना मध्ये अझै ४ सय जना सम्पर्कमा आउन बाँकी रहेको प्रवक्ता महतोले बताए । सहकारीमा पैसा जम्मा गरेर पैसा नपाएका वचतकर्ता आउने क्रम जारी रहेको उनले सुनाए ।
इच्छाराजले विभिन्न २१ वटा कम्पनी खडा गरेर सहकारीको ८ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको देखिएको छ । यसमध्ये सभिल होम्सलगायत ३ वटा कम्पनीमा बढी पैसा गएको छ । यस घटनामा संलग्न इच्छाराजलगात १२ जनालाई सीआईबीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
उनीसँगै अर्का मुख्य साझेदार तथा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परेका छन । पक्राउ परेकाहरूमा भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीता श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने छन् ।
पक्राउ परेका सबै सिभिल सहकारीको विभिन्न पदमा रहेर काम गरेका छन् । लामो अनुसन्धानपछि सीआईबीले शुक्रबार इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । इच्छाराजका श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ । उनी अहिले फरार छिन् ।
सीआईबीले संगठित अपराधमा इच्छाराजलाई ८ वर्ष कैद वित्तीय अपराधमा थप साढे २ वर्ष गरी १० वर्ष ६ महिनासम्म कैद र ५ अर्ब ६३ करोड रुपैयाँ जरिबाना माग गर्दै सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
पीडितको संख्या बढ्दै गएकाले माग दाबी रकम हुने भएको छ । सीआईबीले जनाएको छ । सीआईबीले पीडितबाट जाहेरी लिइरहेको छ । तामाङले स्थापना गरेका २१ कम्पनीहरुमा सिभिल सहकारीको बचत लगेर लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यी सबै कम्पनीको बहुमत स्वामित्व तामाङ र उनको परिवारको भएको पनि खुलेको छ । तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन । संगठित अपराध गरेको आरोप लाग्नेहरुलाई प्रहरी ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । कर्मचारी सञ्चय कोषले समेत इच्छाराजले राजधानीको सुन्धाराको ६ रोपनी जग्गामा बनाएको सीटीसी मल लिलामी गर्न लागेको छ ।
यो पनि हेर्नुहोस
इच्छाराजमाथिको अनुसन्धान पूरा, मुद्दा दायर गर्न सीआईबीले सरकारी वकिललाई बुझायो प्रतिवेदन
सिभिलका सिर्जनालाई पक्राउ गर्न प्रहरीको वारेन्ट, इच्छाराजलाई ८ वर्ष कैद, ५५९ करोड जरिवाना माग
ऋण नतिरेपछि इच्छाराजको सम्पत्ति लिलाम गर्दै सञ्चय कोष, ४६१ करोड ठगीको जाहेरी
ठगी आरोपमा पक्राउ परेका अध्यक्ष तामाङलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
ठगी आरोपमा पक्राउ परेका इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद के हुन्छ ?
सम्पत्ति शुद्धीकरण र राजस्वको निशानामा पनि इच्छाराज, एमालेका कारण जोगिँदै आएका थिए
४६ करोड रुपैयाँ ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ