काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले संगठित वित्तीय अपराध र ठगी काण्डमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङमाथिको अनुसन्धान पुरा गरेको छ ।
झण्डै २ महिना लामो अनुसन्धानपछि इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको सीआईबीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले बताए ।
सीआईबीले संगठित अपराधमा इच्छाराजलाई ८ वर्षसम्म कैद र ५ अर्ब ५९ करोड रुपैयाँ जरिबानासमेत माग गर्दै सरकारी वकिलको कार्यालयमा बुझाएको उनले जानकारी दिए । इच्छाराज अहिले सीआईबीको हिरासतमा छन् । अब सरकारी वकिलको कार्यालयलाई इच्छाराज विरुद्ध मुद्धा दायर गर्न बाटो खुलेको छ ।
सीआईबीका अनुसार हालसम्म ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको जाहेरी परिसकेको छ । यसबीचमा ११ सय २६ जनाले आफूहरु ठगिएको भन्दै जाहेरी दिएका छन् । सीआईबीले पिडितबाट जाहेरी लिइरहेको छ ।
सहकारीको बचतको ठूलो हिस्सा तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएको सीआईबीको अनुसन्धानले देखाएको छ । उनले ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप रकम लगेर विभिन्न कम्पनीका नाममा लगानी गरेको पाइएको छ । कम्पनीहरुले सहकारीमा ऋण नतिरेपछि ठगी गरेको आरोप सतहमा आएको हो ।
घरजग्गा व्यवसायमा बिग्रिएपछि त्यसलाई मिलाउन तामाङले पटक पटक गरेर सिभिल बैंकमा रहेका प्रतिकित्ता १०० मा ४० करोड रुपैयाँको संस्थापक सेयर बिक्री गरेका थिए । सो सेयर सञ्चय कोषले किनेको थियो । यता तामाङले सिभिल बैंकमा पनि अन्य व्यक्तिको नाममा ऋण लिएको आशंकामा नेपाल राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ ।
तामाङले स्थापना गरेका २२ डमी कम्पनीहरुमा सिभिल सहकारीको बचत लगेर लगानी गरेको अनुसन्धानले देखाएको छ । यी सबै कम्पनीको बहुमत स्वामित्व तामाङ र उनको परिवारको भएको पनि खुलेको छ ।
अदालतले पनि संगठित अपराध ऐन विरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको छ । संगठित अपराध गरेको आरोप लाग्नेहरुलाई प्रहरी ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यता कर्मचारी सञ्चय कोषले समेत राजधानीको सुन्धारा रहेको ६ रोपनी जग्गामा बनाएको सीटीसी मल लिलामी गर्न लागेको छ ।
सिर्जनालाई खोज्दै प्रहरी
इच्छाराजका श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ । सीआईबीले सिर्जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । सीआईबीका प्रमुख, डीआईजी सिंहले मुख्य अभियुक्त नै सिर्जना भएको ठहर गर्दै उनलाई पक्राउ गर्न विशेष टोली खटाएको जानकारी दिएका छन् ।
यसअघि नै पक्राउ पुर्जी जारी गरेको बताउँदै उनले अहिले पक्राउ गर्न विशेष प्रहरी टोली नै परिचालन गरेको बताए । सिर्जना फरार रहेकाले खोजतलास भइरहेको उनले सुनाए ।
यो पनि हेर्नुहोस
सिभिलका सिर्जनालाई पक्राउ गर्न प्रहरीको वारेन्ट, इच्छाराजलाई ८ वर्ष कैद, ५५९ करोड जरिवाना माग
ऋण नतिरेपछि इच्छाराजको सम्पत्ति लिलाम गर्दै सञ्चय कोष, ४६१ करोड ठगीको जाहेरी