लामो समयदेखि जारी एयर इन्डियालाई टाटाको हातमा सुम्पिने काम सम्भवतः यसै साता फाइनल हुने बुझिएको छ । सरकारी अधिकारीहरूले सोको जानकारी गराएका हुन् ।
सरकारले बोलकबोलमार्फत गत वर्ष अक्टोबरमा टाटा सन्सअन्तर्गत सञ्चालित एक कम्पनीले लगाएको बोलीलाई एयर इन्डियाले स्वीकार गरेको थियो । उक्त स्वीकारसँगै टाटालाई अधिग्रहणको बाटो खुलेको थियो ।
एयर इन्डियासँग उसको सस्तो विमान सेवा एयर इन्डिया एक्सप्रेसको पनि शतप्रतिशत सेयर बिक्री गरिनेछ । साथै त्यसको ग्राउन्ड ह्यान्डलिङ कम्पनी एआईएसएटीएसको ५० प्रतिशत हिस्सा टाटा समूहलाई नै दिइनेछ ।
त्यति बेला अधिग्रहणसँग जोडिने प्रक्रियालाई डिसेम्बर अन्त्यसम्म पूरा गर्ने सरकारले बताएको थियो । तर, पछि प्राविधिक समस्या आएकाले यो प्रक्रिया केही तन्किएको थियो ।
अधिकारीहरुका अनुसार एयर इन्डियाको अधिग्रहणबारेका सबै औपचारिकता केही दिनमै पूरा हुनेछन् । र, यसै साता विमान टाटा समूहलाई सुम्पिइने छ ।
सरकारले २५ अक्टोबर २०२१ मा १८ हजार करोड रुपैयाँमा एयर इन्डिया बिक्रीका लागि टाटा सन्ससँग सम्झौता गरेको थियो । यसबापत टाटाले २७०० करोड नगद दिनेछ भने १५ हजार ३०० करोड ऋण हुनेछ ।
एयर इन्डिया सन् २००७÷०८ मा इन्डियन एयरलाइन्ससँग विलय भएपछि निरन्तर घाटामा चलिरहेको थियो । गत वर्षको अगस्टसम्म उसको ऋण ६१ हजार ५६२ करोड थियो ।
यी पनि पढ्नुहाेस्ः
एयर इन्डियालाई अपग्रेड गर्न १ अर्ब डलर लगानी थप्दै टाटा ग्रुप
टाटाले २ अर्ब ४० करोड डलरमा लियो एयर इन्डिया, रतनले भने-वेलकम ब्याक
भारत सरकारले बेच्यो एयर इन्डिया, ६८ वर्षपछि टाटा ग्रुपकै हातमा
आफैंले स्थापना गरेको एयर इन्डियाको स्वामित्व यसरी आफ्नो पक्षमा ल्याउँदै छन् रतन टाटा