एयर इन्डियाको अधिग्रहण र सञ्चालनका लागि टाटा ग्रुपले ३ अर्ब २ करोड डलर ऋण लिने भएको छ ।
टाटा ग्रुपले एयर इन्डियाले हालका ऋणदातासँग न्यून ब्याजदरमा ऋण उठाउने योजना लिएको छ ।
टाटाले गत अक्टोबरमा एयर इन्डियालाई अधिग्रहण गरेको थियो । त्यसयता भारतको प्रभावशाली व्यवसायी घराना टाटाले यसको अधिग्रहण र सञ्चालनका लागि कसरी कोष जुटाउँछ भन्ने सबैमा जिज्ञासा थियो ।
इकोनोमिक टाइम्सका अनुसार टाटाले एयर इन्डियाको डिललाई ह्यान्डल गर्न ट्यालास नामको नयाँ सहायक कम्पनी स्थापना गरेको थियो । ट्यालासले हाल ३ अर्ब २ करोड डलर ऋणका लागि बैंकसँग वार्ता थालेको छ ।
कम्पनीले एक वर्षका लागि ४ देखि ५ प्रतिशतसम्मको ब्याजदरमा ऋणका लागि वार्ता थालेको हो ।
सामान्यतया बैंकले सस्तो ब्याजदरमा असुरक्षित ऋण प्रदान गर्दैनन् । तर, टाटा ग्रुप आफैंमा ख्यातिप्राप्त संस्था हो । ट्यालेसले एयर इन्डियाका हालका ऋणदातासँग पनि वार्ता थालेको छ । एयर इन्डियाको अहिलेको ९ देखि १० प्रतिशतबीचको ब्याजदरलाई आधाले घटाउने टाटाको लक्ष्य छ ।
बैंकले यस्तो ऋणका लागि बजारदरभन्दा महंगो ब्याजदर उठाउने गर्छन् । यसैले ट्यालेसको हकमा बैंकले विशेष ‘रिजोलुसन’ पारित गर्नुपर्नेछ । ऋण सम्झौताका सर्तहरू क्रिसमसअघि नै फाइनल हुने बताइएको छ ।
ऋण कहाँ प्रयोग हुन्छ त ?
यो ऋणको प्रयोजनबारे कम्पनीले स्पष्ट पारिसकेको छ । ट्यालेसले अधिकांश ऋण एयर इन्डिया खरिद गर्न प्रयोग गर्नेछ, जुन २ अर्ब ३६ करोड डलर रहेको छ । बाँकी पैसा एयर इन्डियाको ऋण तिर्न र ३५ करोड ५० लाख डलर सरकारको खातामा जानेछ ।
६५ करोड ७० लाख डलर एयर इन्डियाको सञ्चालन खर्चमा जानेछ । यस्तै टाटाले एयर इन्डियाका लागि नयाँ व्यवस्थापन टिम ल्याउने, पुराना ऋण व्यवस्थापन गर्ने, टाटाका अन्य एयरलाइन्सलाई मर्ज गर्ने सम्भावना पनि रहेको छ ।
सम्झौताअनुसार टाटाले सबै पुराना कर्मचारीलाई एक वर्षसम्म अनिवार्य कम्पनीमा राख्नुपर्नेछ । तर, कम्पनीले एयर इन्डिया सञ्चालन गर्न नयाँ कर्मचारीहरु पनि ल्याउन सक्ने देखिन्छ ।
हाल टाटाको ऋणको परिमाण उल्लेखनीय छ । आगामी दशकमा एयर इन्डियालाई विस्तार गर्नका लागि टाटालाई थप ऋण आवश्यक पर्ने देखिन्छ ।
टाटाको सय दिने लक्ष्य
इकोनोमिक टाइम्सका अनुसार टाटाले एयर इन्डियाको अधिग्रहणपछि ‘सय दिने सुधार कार्यक्रम’ कार्यान्वयन गर्ने योजना बनाएको छ । यसबीच कम्पनीले अन टाइम पर्फर्मेन्स, यात्रु गुनासो प्रतिक्रिया र सेवा मापदण्डमा सामान्य सुधार गर्ने लक्ष्य लिएको छ ।
सय दिने लक्ष्यले एयर इन्डियामा टाटाको कस्तो प्रभाव परेको छ भन्ने कुरा देखाउने कम्पनीको अपेक्षा छ । अपेक्षाअनुरुप प्रभाव देखाउन सकेको अवस्थामा यसले कम्पनीलाई भविष्यमा थप उल्लेखनीय रुपमा परिवर्तन गर्ने आधार मिल्ने छ । हाल भारतको सिंगो उड्डयन प्राधिकरणलाई जनवरीको पर्खाइ छ, जब टाटाले औपचारिक रुपमा एयर इन्डियाको अन्तिम अधिग्रहण गर्नेछ ।
–एजेन्सीको सहयोगमा ।
यो पनि हेर्नुहोस
टाटा सन्स र सरकारबीच भयो एयर इन्डियाको सेयर खरिद सम्झौता
एयर इन्डियालाई अपग्रेड गर्न १ अर्ब डलर लगानी थप्दै टाटा ग्रुप
टाटाले २ अर्ब ४० करोड डलरमा लियो एयर इन्डिया, रतनले भने-वेलकम ब्याक
भारत सरकारले बेच्यो एयर इन्डिया, ६८ वर्षपछि टाटा ग्रुपकै हातमा
आफैंले स्थापना गरेको एयर इन्डियाको स्वामित्व यसरी आफ्नो पक्षमा ल्याउँदै छन् रतन टाटा