काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले आउँदो साधारणसभामा सेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश बाँड्ने प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले सुनकोसी हाइड्रोपावर लिमिटेडमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ ‘राइट ब्याक’ भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिने दिने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।
विद्युत विकास विभागबाट एनएचपीसीले ४.५ मेगावाटको सुनकोसी आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एनएचपीसीले बढी रकम तिरेर प्रतिस्पर्धाबाट सो आयोजना पाउन लागेको हो ।
‘सुनकोसी आयोजनाको लाइसेन्स पाउने बित्तिकै दुई महिनाभित्र बस्ने वार्षिक साधारणसभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश गर्ने छौं’ एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले क्यापिटल नेपाललाई बताए ।
साधारणसभाबाट प्रस्ताव पारित हुनसाथ सेयरधनीलाई बोनस सेयर वितरण गर्ने उनले स्पष्टपारे । राइटब्याक हुन विभागबाट सुनकोसी आयोजनाको लाइसेन्स पाउनुपर्ने उनको भनाई छ ।
कम्पनीले २० प्रतिशतसम्म लाभांश दिन विषयमा गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीले तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको लाइसेन्स खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।
नेसनलले प्रतिस्पर्धाबाट तल्लो इन्द्रावती आयोजनाको आशयपत्र पाएको छ । उसले लाइसेन्स पाउने प्रक्रिया अघि बढेको छ । कानुनी प्रक्रिया पुर्याएर सुनकोसी हाइड्रोपावरलाई गाभेर वा अन्य प्रक्रियाबाट भएको लगानी रकम राइट ब्याक गर्ने भएको छ ।
नेसनल हाइड्रोले तल्लो इन्द्रवतीमा लगानी छुट्टै कम्पनीमार्फत गरेको थियो । सुनकोसी हाइड्रो पावर कम्पनीको लाइसेन्स गएको कारणले यो प्रोभिजन नेसनल हाइड्रो पावरको किताबमा देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ । तल्लो इन्द्रावतीको काम करिव आधा सकिएको छ ।
आयोजना बनाउन कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी जुटाउन बाँकी छ । लाइसेन्स पाउनसाथ यी सबै प्रक्रिया पुरा गर्ने भनाई कम्पनीको छ ।
यो पनि हेर्नुहोस
एनएचपीसीको ६१ करोड ७२ लाख ‘राइट ब्याक’ हुँदै, २० प्रतिशत लाभांश दिनसक्ने
एनएचपीसीले पायो तल्लो इन्द्रावती, ६५ करोड ‘राइटब्याक’, सेयरधनीले पाउने भए लाभांश