काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्युत आयोजना बनाउन छनौट भएको छ । नेसनल हाइड्रोपावरले सबैभन्दा बढी रकम प्रस्ताव गरेपछि आयोजना बनाउन छनौट भएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।
विद्युत विकास विभागले नेसनललाई तल्लो इन्द्रावती आयोजनामा छनौट भएको आशयपत्र दिएको छ । कम्पनीले ६ करोड २० लाख २५ हजार रुपैयाँमा पाएको हो ।
विभागले आर्थिक प्रस्तावको मूल्यांकन सकेर बोलपत्रमा भाग लिएका सबै कम्पनीलाई जानकारी पठाइसकेको उनले बताए । बुधबार खोलेको आर्थिक प्रस्तावमा नेसनलले सबैभन्दा बढी रकम कबोल गरेको देखिएको थियो ।
नेसनल हाइड्रोपावरले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । कम्पनीले लाइसेन्स पाएपछि प्रोभिजनिङमा रहेको ६५ करोड रुपैयाँ ‘राइट ब्याक’ हुने र सो रकम सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने बताइएको छ । नेसनल आर्थिक रुपमा सबल बन्नेछ ।
यो पनि हेर्नुहोस
तल्लो इन्द्रावतीमा नेसनल हाइड्रोपावर पहिलो नम्बरमा, पाउला त लाभांश बाँड्ने आयोजना ?
यसअघि प्राविधिक रुपमा योग्य ठहर भएपछि विभागले बुधबार आर्थिक प्रस्ताव खोलेको हो । आयोजना बनाउन ४ वटा कम्पनीले प्रस्ताव गरेका थिए । विभागले प्रतिस्पर्धाका लागि आह्वान गरेपछि कम्पनीहरुले निवेदन दिएका हुन् ।
आवेदन दिने कम्पनीहरूमा नेसनल हाइड्रोपावर, अनिल मल्टी वाइवा जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड छन् । लोअर इर्खुवाखोला नेसनलको सहायक कम्पनी हो ।
यो पनि हेर्नुहोस
इन्द्रावतीको लाइसेन्स पाउनासाथ लाभांश बाँड्नेछौं-नेसनल हाइड्रोका कार्यकारी अध्यक्ष कुमार पाण्डे
नेसनल हाइड्रोकै स्वामित्वमा रहेको आयोजना निर्माण नभएपछि सरकारले खारेज गरेर प्रतिस्पर्धाबाट बनाउन लागेको हो । आयोजनाको निर्माण हालसम्म करिब ५० प्रतिशत पूरा भइसकेको छ ।कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) नीतिअनुसार अघि बढाउनेछ ।
कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इर्खुवा खोला जलविद्युत् आयोजना निर्माण शुरु गरिसकेको छ । यस्तै कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ ।