काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी ३२० जहाजको इन्जिन फेल भएर विगत २४ दिनदेखि कतारको दोहामा ग्राउन्डेड छ । तर, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको असक्षमताका कारण सञ्चालक समितिमा बहुमत जुटाउन नसक्दा हालसम्म इन्जिन फेर्ने निर्णय हुन सकेको छैन ।
तीन साताबीचमा तीनैपटक सञ्चालक समितिको बैठक राख्न खोजे पनि बैठक बस्न सकेको छैन । बिहिबार साँझ तीन जना सञ्चालकहरूलाई बाहिर राखेर बसेको बैठकले इन्जिन मर्मत–सम्भारको विषयमा कुनै निर्णय गर्न सकेन ।
सञ्चालकहरू डिमप्रकाश पौडेल, ईश्वरी पौडेल र फुर गेल्जी शेर्पा निगमको कार्यालय गेटमा पुगेर फर्किएका थिए । कार्यालयभित्र प्रवेश गर्ने वातावरण नभएको भन्दै उनीहरूले लिखित रुपमा ‘नोट अफ डिसेन्ट’ लेखेर फर्किएका थिए ।
तर, कार्यकारी अध्यक्ष अधिकारीले सञ्चालक समितिको बैठक भने बसाएका थिए । सञ्चालक समिति सदस्यहरू किशोर प्रधान, पर्यटन मन्त्रालयका सहसचिव एवं सदस्य होमप्रसाद लुइँटेल, अर्थमन्त्रालयका सहसचिव तथा सदस्य महेश आचार्य र सदस्यसचिव अशोक सिग्देलसहितको बैठक बसे पनि कुनै निर्णय हुन नसकेको बुझिएको छ ।
अध्यक्ष अधिकारीले बैठकमा न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि परेको टेन्डरको विषयमा जानकारी गराउँदै निर्णयका लागि प्रस्ताव अघि सारेका थिए । तर, सञ्चालकहरु प्रधान, लुइँटेल र आचार्यले बहुमत नभएको र इन्जिन मर्मत–सम्भारको विषय सर्वोच्च अदालतमा पनि विचाराधीन रहेकोले आफूहरुले मात्रै यो निर्णय गर्न नमिल्ने भन्दै तत्काल निर्णय नगर्ने अडान राखेका थिए ।
पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गरेका सहसचिव लुइँटेलले बिहीबारको बैठकले इन्जिन मर्मत–सम्भारको विषयमा कुनै निर्णय नभएको दाबी गरे । ‘बैठकले इन्जिन मर्मतसम्बन्धी विषयमा कुनै निर्णय गरेन’, उनले भने, ‘तर, लामो समयसम्म जहाज ग्राउन्डेड गराउने पक्षमा हामी छैनाैं । छिट्टै यसको निकासका लागि छलफलमा जुट्छौं ।’
बिहीबारको बैठकमा बहुमत नजुटेपछि शुक्रबार प्रधानसहितको सञ्चालक समितिले निकास निकालिदिनका लागि पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग भेट गरेका छन् । उनीहरुले सञ्चालक समितिको पूर्ण बैठक बस्ने वातावरण मिलाइदिन सचिव न्यौपानेलाई अनुरोधसमेत गरेका छन् ।
सर्वोच्चले १० गते छलफलमा बोलायो
न्यारोबडी जहाजको इन्जिन मर्मत–सम्भारको ठेक्का पाएको लुप्थान्साले यसअघि नै निगम र सञ्चालक समितिलाई विपक्षी बनाएर अदालतमा मुद्धा दायर गरेको थियो ।
विचाराधीन मुद्धाको अन्तरिम आदेशका लागि छलफलमा सर्वोच्चले नेपाल वायुसेवा निगम र सञ्चालक समितिहरुलाई बोलाएको छ ।
उक्त मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासमा छ ।
यी पनि पढ्नुहाेस्ः
एओजीमा टेकेर नेपाल एयरलाइन्सकाे न्यारोबडीको इन्जिन फेर्न चलखेल
एयरबसको इन्जिन फेर्न नयाँ टेन्डरः आले लेखासमितिमा हुँदा नगर्नु, पर्यटनमन्त्री हुँदा सहमति
निगममा किचलो : गेटमा पुगेर फर्किए सञ्चालक, बैंठकको वातावरण नभएको भन्दै ‘नोट अफ डिसेन्ट’