काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन वर्षअघि लेखा समितिमा रहँदा नेपाल वायुसेवा निगमलाई एयरबस–३२० जहाजको इन्जिन फेर्न नयाँ टेन्डर आह्वान गर्नु नपर्ने निर्देशन दिएका थिए । तर, उनी अहिले तालुक मन्त्रालयमा मन्त्री हुँदा र निगमले सोही निर्देशन उल्लंघन गर्दा यसमा उनकाे सहमति देखिएको छ ।
२०७५ फागुन २७ गते संसदको सार्वजनिक लेखासमितिले एयरबस–३२० जहाजको इन्जिन मर्मत तथा फेर्नका लागि ठेक्का पाएको लुप्थान्सालाई नै निरन्तरता दिन निर्देशन दिएको थियो । सोही निर्देशनलाई लत्याउँदै निगमले अहिले नयाँ टेन्डर आह्वान गरेको हो ।
निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो स्वार्थअनुकूल नभएपछि इन्जिन मर्मत तथा फेर्नका लागि ठेक्का पाएको लुप्थान्साको फाइल लुकाएर नयाँ टेन्डर आह्वान गरे । त्यसपछि सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो ।
लुप्थान्साको उजुरीको आधारमा समितिको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐनविपरीत हुने निष्कर्ष निकाल्दै निगमलाई पुरानै ठेक्का प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको हो ।
नयाँ इन्जिन फेर्न करिब १ अर्ब ५० करोडभन्दा बढी खर्च लाग्छ ।
यही रकममा चलखेल गर्न छोटो समय राखेर नयाँ टेन्डर आह्वान गरिएको निगमको कर्मचारी युनियनका एक सदस्यले क्यापिटल नेपाललाई बताए । 'यसमा पैसाको चलखेल छ, त्यही भएर नयाँ टेन्डर आह्वान भएको हो' उनले भने ।
समितिले छानबिनको क्रममा सो कम्पनीको इन्जिन मर्मतको ठेक्का सार्वजनिक खरिद ऐन र निगमको आर्थिक विनियमावलीअनुसार नै रहेको ठहर गरी सो ठेक्का प्रक्रिया नहटाउन निगमलाई सचेतसमेत गराएको थियो ।
तर, तीन वर्षअघि दिएको निर्देशनलाई आफू मन्त्री रहेका बेला लागू नगरी निगमले ३२० जहाजको इन्जिन मर्मतका लागि नयाँ टेन्डर आह्वान गरेको हो । पुस १३ गते कतारको दोहा उडेको उक्त जहाजको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ ।
ग्राउन्डेड जहाजको इन्जिन मर्मतका लागि नयाँ इन्जिन भाडामा लिनका लागि निगमले आइतबार ७ दिनको म्याद राखेर टेन्डर आह्वान गरेको छ । टेन्डर आह्वानका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने भए पनि कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुईपटक बैठक राख्न प्रयास गरे पनि सफल भएका थिएनन् ।
बैठक बसाउनै नसकेपछि कार्यकारी अध्यक्ष अधिकारीले मन्त्री आलेको ठाडो निर्देशनमा नयाँ टेन्डर आह्वान गरेको हो । निगमको नियमावलीभित्र जहाज मर्मतका लागि एयरक्राफ्ट अन्डरग्राउन्ड (एओजी) को प्रबन्ध गरिएको छ । अहिले अध्यक्ष अधिकारीले यही बुँदालाई टेकेर टेन्डर गरिएको बुझिएको छ । नयाँ इन्जिन फेर्न ३ देखि ४ महिनाको समय लाग्छ ।
याे पनि पढ्नुहाेस्ः
निगमका कार्यकारी निर्देशक मदन खरेललाई झट्का : एजे वार्टरसँग खरिद सम्झौता नगर्न निर्देशन