काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर बिक्री गरेर नेपालबाट बाहिरिन खोजेको बंगलादेशी साझेदार आईएफआईसी बैंकको सेयर उद्योगपति विनोद चौधरीले किन्ने भएका छन् ।
उद्योगपति चौधरी र आईएफआईसीबीच संस्थापक सेयर खरिदबिक्री सम्झौता (पर्चेज एग्रिमेन्ट) हुने भएको छ । खरिद रकम भने खुलाइएको छैन । चौधरी र आईएफआईसीबीच एक साताभित्रै नेपाल बंगलादेश बैंकको सेयर किन्ने सम्झौता हुन लागेको हो ।
नेपाल राष्ट्र बैंकले एनबीलाई नबिलमा मर्ज गर्ने सर्तमा चौधरीलाई सो सेयर खरिद गर्न अनुमति दिएको हो । आइएफआइसीको एनबी बैंकमा ४०.९१ प्रतिशत स्वामित्व रहेको छ । यो साधारणभा गर्नु अघिको हो । मंसिर २ गते सम्पन्न साधारणसभाले १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि आइएफआईसीको सेयर संख्या बढ्ने छ ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । यसअघि उसले एनबीमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक बिक्रीको प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपछि आईएफआइसीको सेयर संख्या झण्डै ४५ लाख कित्ता बढ्ने छ ।
सम्झौता राष्ट्र बैंकबाट स्वीकृति गरेपछि कार्यन्वयनमा आउने छ । एनबी बैंकलाई नबिलसँग मर्ज गर्ने प्रतिवद्धता जनाएपछि केन्द्रीय बैंकले चौधरीलाई आईएफआईसीको स्वामित्वमा रहेको सेयर किन्न अनुमति दिएको हो ।
आईएफआईसीले असार २९ गते एनबीमा रहेको आफ्नो संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । आईएफआईसीले सूचना प्रकाशित गरेपछि एनबीकै संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठ समूहले सेयर खरिदका लागि प्रस्ताव पेस गरेको थियो ।
आईएफआईसीले संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएपछि नबिलसँग मर्जमा जान एनबी बैंकलाई मर्जमा जान दबाब परे छ । एनबीमा लक्ष्मीबहादुर समूहको १०.७२ प्रतिशत सेयर हिस्सा छ । यस्तै सर्वसाधारणको ४८.३७ प्रतिशत छ । बाँकी बंगलादेशी बैंकको छ ।
बैंकको ३७१ औं सञ्चालक समिति बैठकले आईएफआईसीले संस्थापक सेयर बिक्रीका लागि दिएको निवेदनलाई स्वीकृत गरेको थियो ।
सेयर किन्न प्रस्ताव गर्ने लक्ष्मीबहादुरलाई आईएफआईसीका प्रतिनिधिले नबिलसँग मर्जमा जानका लागि सहयोग गर्न भनेका थिए ।
आईएफआईसीले एनबीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएपछि नबिलसँग मर्ज हुने हल्ला चलेको थियो । यसअघि पनि नबिलसँग मर्ज गर्ने भन्दै एनबीको सेयर मूल्यमा उछाल ल्याइएको थियो ।
यो पनि हेर्नुहोस
बंगलादेशको आईएफआईसीको सर्त नबिल बैंकसँग मर्ज भए एनबीको सेयर नबेच्ने
बंगलादेशको आईएफआईसी बैंक एनबी बैंकबाट बाहिरिने, सबै ३ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा