काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको लगानी प्रस्तावलाई लगानी बोर्डले स्वीकृत गर्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा यसै साता बस्न लागेको बोर्ड बैठकले डाबरको लगानी स्वीकृत गर्न लागेको हो ।
उत्पादन बढाउन डाबरले ९ अर्ब रुपैयाँ लगानी थप्न लागेको छ । जसअनुसार डाबरले विभिन्न बैंकबाट अल्पकालीन र दीर्घकालीन गरी ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिन लागेको छ । कम्पनीले ६ अर्ब १० करोड अल्पकालीन र ५० करोड रुपैयाँ दीर्घकालीन ऋण लिन लागेको हो । बाँकी लगानी भने डाबरको हुनेछ ।
डाबर इन्टरनेसनल लिमिटेडको बहुमत स्वामित्व रहेको डाबर नेपालले उत्पादन बढाउनका लागि लगानी थप्न लगानी बोर्डमा प्रस्ताव गरेको थियो ।
बोर्डले डाबरको प्रस्ताव अध्ययन गरी थप लगानीको स्वीकृति दिन लागेको बोर्डका सहप्रवक्ता रमेश घिमिरेले बताए । उनले अब बस्ने बोर्ड बैठकले डाबरको लगानी प्रस्ताव स्वीकृत गर्ने जानकारी दिए । ६ अर्ब रुपैयाँदेखिको लगानी स्वीकृत गर्ने कार्यक्षेत्र भएकाले डाबर लगानी बोर्डमा पुगेको हो ।
बोर्डबाट स्वीकृत भएपछि औपचारिक रुपमा उत्पादन बढाउनका लागि प्लाण्ट राख्ने डाबरलाई बाटो खुल्नेछ । डाबरले जुसलगायत पेय पदार्थ उत्पादनका लागि थप लगानी गर्न लागेको जानकारी बोर्डलाई दिएको छ । कम्पनीले ऋण लिनका लागि केयर रेटिङ्स नेपाल लिमिटेडबाट साख निर्धारण (रेटिङ) गरिसकेको छ ।
जसअनुसार डाबरले केयर एनपी वान प्लस रेटिङ पाएको छ । कम्पनीले नेपालमा पेय पदार्थ सौन्दर्य तथा स्वास्थ्यवर्धक सामग्री उत्पादन गर्दै आएको छ । डाबरले डाबर रियल जुस, ग्लुकोज, च्यवनप्रास, हेयर आयल, टुथपेस्ट, हाजमोला हनीलगायत वस्तु उत्पादन तथा निकासी गर्दै आएको छ ।
कुल निर्यात व्यापारमा डाबरको योगदान ५.३४ प्रतिशत रहेको छ ।
डाबर नेपालमा ९७.५ प्रतिशत हिस्सा डाबर इन्टरनेसनल लिमिटेडको र बाँकी साढे २ प्रतिशतमात्र स्वामित्व नेपाली साझेदार रुक्मशम्शेर राणाको छ । राणाको निधन भइसकेको छ । यसअघि उनी कम्पनीको अध्यक्ष थिए ।
२०४६ को राजनीति परिवर्तलगतै स्थापना भएको डाबरले नेपालमा सन् १९९२ देखि दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै छिमेकी भारतमासमेत निर्यात गर्दै आएको छ ।
आफ्नो उत्पादन बिक्रीबाट डाबरले गत वर्ष ८ अर्ब ९८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कोरोना महामारीले गत वर्ष व्यवसायमा कमी आएपछि आम्दानीमा केही कमी आएको थियो । गत वर्ष डाबरले ६६ करोड ९८ लाख रुपैयाँ खुदनाफा गरेको वित्तीय विवरणमा उल्लेख छ ।
डाबरले नेपाल बाहेक श्रीलंका, टर्की, बंगलादेश, संयुक्त अरब इमिरेट्स, इजिप्ट, अमेरिका, नाइजेरिया र दक्षिण अफ्रिकामा लगानी विस्तार गरेर उत्पादन गरिरहेको छ । डाबरको चुक्तपुँजी ७ करोड ९८ लाख रुपैयाँ छ । जगेडा कोषमा ६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
सन् १८८४ मा एसके बर्मनले डाबर इन्डियाको स्थापना गरेका हुन । भारतमा डाबरको आम्दानी वार्षिक ८९ अर्ब ८९ करोड भारु (१ अर्ब ३० करोड अमेरिकी डलर) रहेको छ ।
यो पनि हेर्नुहोस
उत्पादन बढाउन ९ अर्ब लगानी थप्दै डाबर