काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले उत्पादन बढाउन ९ अर्ब रुपैयाँ लगानी थप्न लागेको छ । डाबर इन्डिया लिमिटेडको बहुमत स्वामित्व रहेको डाबर नेपालले उत्पादन बढाउनका लागि लगानी थप्न लगानी बोर्डमा प्रस्ताव गरेको हो । बोर्डले डाबरको प्रस्तावको अध्ययन गरेर थप लगानी गर्न दिनका लागि प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा अब बस्ने लगानी बोर्डको बैठकले डाबरको लगानी स्वीकृत गर्ने भएको हो । अब बस्ने बोर्ड बैठकमा डाबरको थप लगानी स्वीकृतिको प्रस्ताव पेश हुने बोर्डका सहप्रवत्ता रमेश अधिकारीले बताए ।
बोर्डबाट स्वीकृत भएपछि औपचारिक रुपमा उत्पादन बढाउनका लागि प्लाण्ट राख्ने डाबरलाई बाटो खुल्नेछ । डाबरले जुसलगायत पेय पदार्थ उत्पादनका लागि थप लगानी गर्न लागेको सहप्रवत्ता अधिकारीले स्पष्ट पारे । कम्पनीले नेपालमा पेय पदार्थ सौन्दर्य तथा स्वास्थ्यवद्र्धक सामग्री उत्पादन गर्दै आएको छ ।
डाबरले गत वर्ष बोर्डमा लगानीको विस्तारको प्रस्ताव गरेको हो । ६ अर्ब रुपैयाँदेखिको लगानी स्वीकृति गर्ने कार्यक्षेत्र भएकाले डाबर लगानी बोर्डमा पुगेको हो ।
डाबरले अहिलेको उत्पादन प्रणालीको क्षमता विस्तारका साथै नयाँ उत्पादनहरु पनि ल्याउने प्रस्ताव बोर्डमा गरेको छ । डाबर नेपालमा ९५ प्रतिशत हिस्सा डाबर इन्डियाको र बाँकी ५ प्रतिशतमात्र स्वामित्व नेपाली साझेदार रुक्मशम्शेर राणाको छ । राणाको निधन भइसकेको छ ।
२०४६ को राजनीति परिवर्तलगतै स्थापना भएको डाबरले नेपालमा रियल जुस, टुटथपेस्ट, च्याबनप्राश हाजमोला, डाबर अमला हेयर आयल, डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिललगायतका दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै छिमेकी भारतमासमेत निर्यात गर्दै आएको छ । डाबरको उत्पादनहरु नेपाल र भारतलगायत तेस्रो मुलुकमा लोकप्रिय बनेका छन् ।
आफ्नो उत्पादन बिक्रीबाट डाबरले गत वर्ष ८ अर्ब ९८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कोरोना महामारीले गत वर्ष व्यवसायमा कमी आएपछि आम्दानीमा केही कमी आएको थियो । गत वर्ष डाबरले ६६ करोड ९८ लाख रुपैयाँ खुदनाफा गरेको वित्तीय विवरणमा उल्लेख छ ।
डाबरले नेपाल बाहेक श्रीलंका, टर्की, बंगलादेश, संयुक्त अरब इमिरेट्स, इजिप्ट, अमेरिका, नाइजेरिया र दक्षिण अफ्रिकामा लगानी विस्तार गरेर उत्पादन गरिरहेको छ । डाबरको चुक्तपुँजी ७ करोड ९८ लाख रुपैयाँ छ । जगेड कोषमा ६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
सन् १८८४ मा एसके बर्मनले डाबर इन्डियाको स्थापना गरेका हुन् । भारतमा डाबरको आम्दानी वार्षिक ८९ अर्ब ८९ करोड भारु ( १ अर्ब ३० करोड अमेरिकी डलर) रहेको छ ।