काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले प्रवर्धन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको मनिकारन पावर लिमिटेडसँग विद्युत व्यापारको सम्झौता भएको छ । सोमबार ‘नेपाल पावर मार्केट समिट २०२२’ को अवसरमा विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल पावर एक्सचेन्जका तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकारका प्रबन्ध निर्देशक नवोदित सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार भारतीय कम्पनी मनिकारनले वर्षाको समयमा नेपालमा बढी भएको ५०० मेगावाटसम्म बिजुली किन्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल पावर एक्सेचन्जमा मनिकरनको १५ प्रतिशत सेयर स्वामित्व हुने भएको छ । बिजुली व्यापार न्युनतम १० देखि २५ वर्षसम्मका लागि भएको सो अवसरमा जानकारी गराइएको थियो ।
यद्यपी नेपाल पावरलाई सरकारले विद्यत व्यापारको अनुमतिपत्र (लाइसेन्स) दिने तयारी छ । लाइसेन्स दिन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निर्देशिका बनाइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) सँग विद्युत् व्यापार सम्झौता गरी ३९ मेगावाट निकासी गरिसकेको छ । नेपाल विद्युत व्यापार कम्पनी लिमिटेडलाई सरकारलाई अनुमति दिएको छ ।
इप्पानले २ वर्षअघि नेपाल पावर एक्सचेन्ज स्थापना गरेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा नेपाल पावर एक्सचेन्ज दर्ता भइसकेको छ । कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।
संस्थापक लगानीकर्ताले २१ करोड रुपैयाँ स्वपुँजी संकलन गरिसकेका छन् । नेपाल पावरमा इप्पानका सदस्य कम्पनी साझेदारका रूपमा रहने बताइएको छ ।
इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुल बिजुली उत्पादनमा निजी क्षेत्रको हिस्सा ५० प्रतिशत रहेको बताए । यो वर्षभित्र यसको हिस्सा बढाएर ८० प्रतिशत पुर्याउने अध्यक्ष आचार्यले जानकारी दिए ।
याे पनि पढ्नुहाेस्ः
निजी क्षेत्रबाट पनि भारतमा विद्युत व्यापार, नेपाल पावर र मनिकारनबीच सोमबार सम्झौता हुँदै