काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान)ले प्रवद्र्धन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेडले भारतीय कम्पनीसँग विद्युत व्यापार गर्ने भएको छ ।
इप्पानको नेतृत्वमा स्थापना भएको नेपाल पावरले भारतको मनिकारन पावर लिमिटेडसँग सोमबार ‘नेपाल पावर मार्केट समिट २०२२’ को अवसरमा विद्युत व्यापारको सम्झौता गर्न लागेको हो । सम्झौतापछि नेपाल पावरले मनिकारनमार्फत भारतमा विद्युत व्यापार गर्ने भएको छ ।
भारतीय कम्पनीसँग विद्युत व्यापार सम्झौता हुन लागेको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘ऊर्जा मन्त्रीज्यूले विश्वासिलो आधार ल्याउनुस विद्युत व्यापारको अनुमतिपत्र (लाइसेन्स) दिन्छौ भन्नु भएको थियो, हामीले बनाएका छौं’ उनले क्यापिटल नेपालसँग भने ‘भोली सोमबार भारतीय कम्पनी मनिकारनसँग व्यापार सम्झौता गरेर प्रमाणित गर्दै छौं ।’
इप्पानले लाइसेन्स पाएपछि मनिकारनसँग सिधै बिजुलीको व्यापार गर्ने उनको भनाई छ । नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडसँग विद्युत व्यापार सम्झौता गरेर ३९ मेगावाट निकासी गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत व्यापारको लाइसेन्स खुलाउने संकेत गरिसकेको छ ।
नेपालमा पनि बिजुली उत्पादन बढिरहेको र भारत तथा बंगलादेशले समेत खरिद गर्ने प्रतिबद्धता जनाएपछि पावर एक्सचेन्जले मनिकारनमार्फत व्यापारको रणनीति अघि बढाएको हो ।नेपाल विद्युत प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीलाई मन्त्रिपरिषदले अनुमति दिइसकेको छ ।
यस्तै निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लाइसेन्स खुला गर्न कार्यविधिको काम अघि बढाएको छ । कार्यविधि आएपछि निजी क्षेत्रले विद्युत व्यापारको अनुमति पाउनेछ । विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न कार्यविधि तयारीको काम सुरु भएको ऊर्जाका प्रवक्ता मधु भेटवालले बताएका छन ।
इप्पानले २ वर्षअघि नेपाल पावर एक्सचेन्ज स्थापना गरेको हो । कम्पनी रजिष्टारको कार्यालयमा नेपाल पावर एक्सचेन्ज दर्ता भइसकेको छ । कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ राखिएको ।
संस्थापक लगानीकर्ताहरुले २१ करोड रुपैयाँ स्वपुँजी संकलन गरिसकेका छन् । नेपाल पावरमा इप्पानका सदस्य कम्पनी साझेदार हुने भएका छन् ।
यस्तै नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले पनि विद्युत व्यापार कम्पनी स्थापनाका लागि पहल थालेको छ । योसमेत गरी नेपालमा ३ वटा विद्युत व्यापार कम्पनी सञ्चालनमा आउने देखिएको छ ।
यता निफ्राले ल्याएको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । विदेशी कम्पनीको ३६, निफ्राको १५ देखि २०, सरकार तथा विद्युत प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको छ ।
प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेको छ । नेपालले प्रतिस्पर्धाबाट ३९ मेगावाट बिजुली निकासीको अनुमति पाइसकेको छ । यस्तै बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता जनाइसकेको छ ।
यस्तै नेपालको बिजुली किन्न बंगलादेश सरकारले सहमति दिइसकेको छ । यता जीएमआर इनर्जीले माथिल्लो कर्णाली आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न समझदारीपत्र (एमओयू) गरिसकेको छ ।
विद्युत खरिद दर पनि निर्धारण भइसकेको छ । भारतीय लगानीका कम्पनीको बिजुली किन्ने निर्णय भारत सरकारले गरिसकेको छ । सतलज जलविद्युत निगमले ९०० मेगावाटको अरुण तेस्रो र ६७९ मेगावाटको तल्लो अरुण आयोजनाको बिजुली भारत निकासी गर्ने छ ।
यो पनि हेर्नुहोस
विद्युत् व्यापारको रणनीति तय गर्दै नेपाल पावर एक्सचेन्ज, थाल्यो भारतीयसँग छलफल