काठमाडौं । निरन्तर सकारात्मक गति समाउन थालेको सेयर बजारले आइतबार सूचक र कारोबार दुवैमा छलाङ मारेको छ । आइतबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार उच्च अंकले बढेर बन्द भएको छ । यद्यपि, बीच-बीचमा सानो-सानो करेक्सनको बाटो समाएको थियो । खासगरी मुलुकमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेको असर आइतबारको सेयर बजारमा परेको छ ।
कोरोना संक्रमण बढ्दै जाँदा सरकारले ‘स्मार्ट लकडाउन’मा जान सकिने आशय व्यक्त गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो । आइतबार सूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि एक हिसावले भन्ने हो भन्ने छलाङ नै मारेको छ । आइतबारको कारोबार रकम ३५ कारोबार दिन यताकै उच्च हो । यसअघि मंसिर १ गते ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
कोरोना संक्रमण दर बढेर अहिले १ हजार नजिक पुगिसकेको छ । विश्वभर कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको दबदबा भइरहेका बेला नेपालमा पनि ओमिक्रोन भाइरसको पुष्टि भएको मात्रै होइन्, धेरै व्यक्तिहरुमा यसको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । काेराेना संक्रमणकाे दर अझ बढेका सेयर बजारले थप उचाइ समाउने अांकलन हुन थालेकाे छ ।
राजनीतिक दलका प्रमुख नेताहरु कोरोना संक्रमित भइरहेका बेला सरकारका अधिकारीहरुले ग्रामीण क्षेत्रसम्म संक्रणम फैलिएको बताउन थालेका छन् । कोरोना संक्रमण बढिरहँदा सरकारले मानव जीवन सुरक्षाका लागि बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने सम्भावना बढ्दै गएको छ ।
यसले लगानीका अन्य क्षेत्रहरु खुम्चिँदै जाँदा पुँजी बजार नै सबैका लागि लगानीको आकर्षक स्थल बन्न सक्छ । विगतमा पनि कोरोना भाइरसको पहिलो र दोस्रो लहरले सेयर बजारमा उछाल ल्याएको थियो । जसले भदौ २ गते ३२२६ सम्म चढेको बजार मौद्रिक नीतिको प्रावधानबाट ओरालो यात्रा सुरु गरेको थियो । त्यो यात्रा मंसिर २७ गते २२५९ मा आएर रोकियो । त्यसपछि बढ्न थालेको बजारले आइतबार २७७० अंकसम्म चढे पनि कारोबार रोकिँदा भने गत बिहीबारको तुलनामा ७३.०१ अंकले बढेर २७६५.४८ बिन्दुमा रोकिएको छ ।
आइतबार १८३ कम्पनीको मूल्य वृद्धि हुँदा नेपाल हाइड्रो डेपलपर्स र हिमालय उर्जा विकास कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । धेरैपछि मूल्य बढ्ने रफ्तारमा अन्य समूहलाई पछि पार्दै जलविद्युत समूह आक्रामक रुपमा अघि आएको छ । उच्च १० मूल्य वृद्धि हुने कम्पनीमध्ये ६ वटा जलविद्युत समूहका छन् । विगतमा सेयर बजारमा उछाल आउँदा जलविद्युत समूहले नै बजार ‘लिड’ गरेको थियो ।
धेरैजसो समय जलविद्युत समूह सूचक बढ्दा नेप्से बढ्ने र घट्दा घट्ने स्थिति सिर्जना भएको थियो । यद्यपि, आइतबार सबैभन्दा बढी व्यापार समूहमा उछाल आएको छ । व्यापार समूहको ६ प्रतिशतले मूल्य बढ्दा विकास बैंकको ५.५ र वित्त कम्पनीको ५.१६ प्रतिशतले मूल्य बढेको छ भने जलविद्युत समूहको करिब ५ प्रतिशतले मूल्य बढेको छ ।
बढेको बजारमा पनि आइतबार ऋणपत्र, म्युचुअल फन्ड बाहेक ८ कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी मिथिला लघुवित्तको सेयर मूल्य १.२७ प्रतिशतले घटेको हो । आइतबार लगानीकर्ताको रोजाइमा अपी पावर कम्पनी, प्रभु बैंक र अपर तामाकोसी हाइड्रो पावर परेका छन् । अपीको २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा प्रभुको २० करोड ८६ लाख र अप्परको २० करोड १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
याे पनि पढ्नुहाेस्
ओमिक्रोनको प्रभाव सेयर बजारमाः सवा घण्टामा ७७ अंकको वृद्धि, प्रभुमा झुम्मिए लगानीकर्ता