काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर पुनः वृद्धि हुन थालेपछि सेयर बजारमा सकारात्मक उछाल आएको छ । खासगरी, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर बढेर कतिपय मुलुकमा लकडाउन भएका बेला नेपालमा पनि त्यसको प्रभाव बढ्न थालेको छ । कोरोनाबाट सत्तारुढ प्रमुख दल मध्येका एक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संक्रमित भएपछि आइसोलेसनमा छन् ।
दाहाल संक्रमित देखिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा गएका छन् । यद्यपि, उनले शनिबार मात्रै प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि भटेका थिए । त्यसअघि शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख नेताहरू बालुवाटारकाे छलफलमा सहभागी थिए ।
दैनिक रूपमा कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले स्मार्ट लकडाउनको हल्ला चलाएको छ । लक डाउन भएपछि लगानीका अन्य क्षेत्र खुम्चिने र सबै पैसा सेयर बजारमै आउने विश्वाशले एकाएक बजारमा उछाल आएको हो । यद्यपि, केही दिनदेखि बजार बढ्दो क्रममा नै छ ।
वित्तीय बजारमा देखिएको तरलता अभाव, सरकारले राजस्व उठाउनुपर्ने चटारो र व्यक्ति तथा व्यवसायीहरुले बैंकको साँवा तथा ब्याज हतारोका बीच पनि कोरोना कहर बढ्ने र त्यसले आगामी दिनमा सेयर बजारले थप उचाइ लिने अपेक्षामा लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
आइतबार कारोबार खुलेको सवा घण्टाभित्र सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७ अंकले बढेको छ। यद्यपि, एउटा उचाइ समाएकाले केही समय सुस्ताउने सम्भावना पजि उत्तिकै छ ।
सूचक मात्रै बढेको छैन, यदि सुरुवातमै कारोबार रकममा पनि उछाल आएको छ । यसबीचमा झन्डै पौने ३ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्रभु बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यसअघि दिनभरिको कारोबार नै ३ अर्ब हाराहारीमा मात्रै हुने गरेको थियो । गत बिहीबार मात्रै ३ अर्ब ६० करोडको कारोबार भएको थियो ।
पहिलो सवा घण्टामा प्रभुको सेयर १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १८५ कम्पनीको सेयर मूल्य बढ्दा म्युचुअल फन्ड र डिबेन्चरबाहेक नेपाल एसबीआई बैंकको मात्रै सेयर मूल्य घटेको छ ।