काठमाडौं । बुधबार २७०० लाइ छोएर फर्किएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार २७०० नछोइकन बन्द भएको छ । यद्यपि, बुधबार ३० अंकले घट्दा बिहीबार ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दूमा रोकिएको छ ।
बुधबार २६४९ मा रोकिएको बजार सूचक बिहीबार कारोबार खुल्दा थप घटेको थियो । सुरुवाती १० मिनेटमा २६३३ सम्म झरेको सूचक त्यसपछि भने बढ्ने रफ्तारमा देखियो । बढ्ने र घट्ने निरन्तर प्रयासमा रहेको नेप्से सूचकको प्रवृत्ति बिहीबार बढी बढ्ने र कम घट्ने प्रवृत्ति पटक-पटक देखा पर्यो । बुधबार ठीक उल्टो थियो । बुधबार बजार घट्दोक्रममा रहँदा कम बढ्ने बढी घट्ने प्रवृत्ति देखाएको थियो ।
साताको अन्तिम दिन बिहीबारको कारोबार प्रवृत्तिले बजार बढ्न बल गरेको देखाए पनि ठूलो छलाङ मार्ने अवस्था भने नरहेको संकेत गर्छ । बजार बढ्दा पनि कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ ।
बुधबार ४ अर्ब ५२ करोड हुँदा बिहीबार ३ अर्ब ६८ करोडमा सीमित भएको छ । यसदिन नेपाल फाइनान्स र तेह्रथुप पावरले सकारात्मक सर्किट लगाएका छन् भने गत सातादेखि कारोबारमा आएको मध्य भोटेकोसीको पनि झण्डै सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
बिहीबार १६४ कम्पनीको मूल्य वृद्धि हुँदा त्यसको सकारात्मक असर परेको छ । बढ्दो बजारमा पनि १३ कम्पनीको सेयर मूल्य भने गिरावट आएको छ । र, सबैभन्दा बढी विशाल बजारको २.१५ प्रतिशतले घटेको छ । बिहीबार व्यापार र उत्पादन तथा प्रशोधनमूलक समूहमा गिरावट आउँदा अन्य सबै समूहमा सकारात्मक प्रभाव परेको छ ।
सबैभन्दा बढी होटल र पर्यटन समूहमा परेको छ । सो समूहको मूल्य ३.४८ प्रतिशतले बढेको छ । त्यसपछिको प्रभाव निर्जीवन बिमा समूहमा परेको । यसको २.०५ प्रतिशतको वृद्धि देखिएको छ । बिहीबार सबैभन्दा धेरै अपी पावरको सेयर कारोबार भएको छ । यसको १६ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आगामी साता पुसको अन्तिम साता भएको र यो समयमा आयकर बुझाउन सरकारले अधिकतम ताकेता गर्ने भएकाले तरलताको केही समस्या देखिनेछ । यसको प्रभाव माघ पहिलो सातासम्म पर्न सक्छ । तरलता संचुकन, बढी कर तिर्नुपर्ने दबाब आगामी साताको सेयर बजारमा पर्न सक्छ ।
याे पनि पढ्नुहाेस्
कर असुलीको दबाब दिन राजस्व सचिवले नमानेपछि अर्थसचिव आफैं उत्रिए मैदानमा