काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई दिने ब्याजदर बढाउन गृहकार्य थालेको छ । ब्याजदर सस्तो भएपछि सञ्चयकर्ताले विशेष सापटी लिएर वाणिज्य बैंक र सहकारीमा पैसा राख्न थालेपछि कोषलाई अहिले ब्याजदर बढाउन दबाब परेको हो ।
कोषले सञ्चयकर्तालाई औसत ७.६ प्रतिशत ब्याज दिइरहेको छ । बैंकले मुद्दती निक्षेपमा १०.०५ प्रतिशत र सहकारीले सोभन्दा बढी आकर्षक ब्याज दिएपछि सञ्चय कोषमा जम्मा भएको पैसा सञ्चयकर्ताले झिकिरहेका छन् ।
कुल सञ्चय कोष रकमको ८० प्रतिशतसम्म निकाल्न पाउने व्यवस्था छ । कोषलाई अहिले घर बनाउन, जग्गा किन्न र जलविद्युत परियोजनामा प्रतिबद्धता जनाएको रकमसमेत दिन हम्मे परेको छ ।
कोषले प्रत्येक ६/६ महिनामा ब्याजदरमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । व्यवस्था भए पनि कोषले अहिलेसम्म अर्धवार्षिक रूपमा ब्याजदर पुनरावलोकन गरेको छैन । यसपटक गर्नुपर्ने देखिएको सञ्चय कोषका स्रोतले बतायो ।
।
पुसभित्र निर्णय गरेर माघदेखि नयाँ ब्याजदर लागू हुन सक्ने संभावना रहेको उनले सुनाए । यद्यपि छलफलका क्रममा रहेकाले अघि बढ्ने वा नबढ्ने अझै अनिश्चित रहेको स्रोतले जानकारी दियो ।
कोष सञ्चालक समितिले पारित गरेपछि मात्र नयाँ ब्याजदर लागू हुने उनको भनाइ छ । लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) को अवस्था आएपछि मंसिर १ देखि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । सञ्चय कोष आफैं बैंकको ठूलो संस्थागत निक्षेपकर्ता हो ।
सञ्चय कोषमा निजामती, सेना, प्रहरी, शिक्षकलगायत गरी ६ लाख बढी सञ्चयकर्ता जोडिएका छन् । कोषबाट विशेष सापटी लिएर सञ्चयकर्ताले विभिन्न बैंकमा मुद्दती निक्षेपमा राख्ने गरेको कोषले गरेको अध्ययनले देखाएको छ । कोषमा राख्नुभन्दा बैंकको मुद्दती निक्षेपमा राख्दा साढे २ प्रतिशत बढी ब्याज आउने भएपछि सञ्चयकर्ताले यसो गर्न थालेका हुन् ।
घरजग्गा किन्न लिएको सापटी बैंकको मुद्दती निक्षेपका अन्य प्रयोजनमा खर्च गर्न पाइँदैन । जे प्रयोजनका लागि लिएको हो त्यसमा मात्र लगानी गर्नुपर्छ । उक्त विशेष सापटी रकमको लगानी खोजिँदैन । सेयर बजार, घरजग्गालगायत फाइदा हुने अन्य क्षेत्रमा लगानी र मुद्दतीमा राख्न पाइन्छ ।
सञ्चय कोषले साउन १ देखि बचत र ऋण दुवैको ब्याजदर घटाइसकेको छ । ब्याजदर अन्तर (स्प्रेड) पनि घटेर १.१ प्रतिशत मात्र हुने भएको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ ।
सञ्चय कोषको सम्पत्ति/दायित्व गत आर्थिक वर्षमा १५.३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम १२ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा ३ खर्ब ८४ अर्ब १ करोड रुपैयाँ थियो ।
सञ्चयकर्ताको सञ्चित रकम २०७७ असार मसान्तमा ३ खर्ब ४९ अर्ब ६३ करोड रहेकोमा २०७८ असार मसान्तमा १३.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ९६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
यो पनि हेर्नुहोस
विशेष सापटीमा ठूलो रकम बाहिरिँदा कोषमा तरलता संकट, सञ्चयकर्ताको ब्याजदर बढाउने तयारी
ब्याजमा लोभिँदै सञ्चयकर्ता, सञ्चय कोषबाट दैनिक ३० करोड ऋण निकालेर बैंकको मुद्दतीमा