काठमाडौं । कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ताले रकम निकालेर धमाधम बैंकको मुद्दती निक्षेपमा राख्न थालेका छन् । बैंकले मुद्दती निक्षेपमा आकर्षक ब्याज दिन थालेपछि सञ्चयकर्ताले सञ्चय कोषबाट धमाधम रकम निकालेका हुन् ।
लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) को अवस्था आएपछि मंसिर १ गतेदेखि बैंकहरू मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत बढाएका छन् । बैंकले मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याज दिइरहेका छन् । सञ्चय कोषले औसत ७.६ प्रतिशत मात्र ब्याज दिइरहेको छ ।
झन्डै साढे २ प्रतिशत बढी ब्याज पाउने लोभमा सञ्चयकर्ताले सञ्चय कोषबाट धमाधम पैसा निकाल्न थालेको कोषका एक अधिकारीले क्यापिटल नेपाललाई बताए । सञ्चयकर्ताले विशेष सापटीका रूपमा दैनिक ३० करोड रुपैयाँ हाराहारीमा पैसा निकाल्ने गरेका छन् ।
सञ्चयकर्ताबाट विशेष सापटीको माग बढेपछि अहिले सञ्चय कोषलाई विशेष सापटी दिन हम्मेहम्मे परेको छ । सञ्चय कोषमा निजामती, सेना, प्रहरी, शिक्षकलगायत गरी ६ लाख बढी सञ्चयकर्ता जोडिएका छन् ।
कोषबाट विशेष सापटी लिएर सञ्चयकर्ताहरुले विभिन्न बैंकहरुमा मुद्दती निक्षेपमा राख्ने गरेको कोषले गरेको अध्ययनले समेत देखाएको छ । कोषमा राख्नुभन्दा बैंककको मुद्दती निक्षेपमा राख्दा साढे २ प्रतिशत बढी ब्याज आउने भएपछि सञ्चयकर्ताहरुले पैसा बैंकमा राख्ने गरेको ती अधिकारीको भनाई छ ।
‘बैंकमा बुझ्दा सञ्चयकर्ताले ठूलाे रकम राख्ने गरेको देखिएको छ’ उनले भने, ‘विशेष सापटी भनेर लिएपछि सञ्चयकर्ताले बैंकमा लगेर पैसा राख्दा कोषलाई पनि तरलता व्यवस्थापन गर्न समस्या भएको छ ।’
घर र जग्गा किन्न लिएको सापटी बैंकको मुद्दती निक्षेपका अन्य प्रयोजनमा खर्च गर्न पाइँदैन । जे प्रयोजनका लागि लिएको हो त्यसमा मात्र लगानी गर्नुपर्छ । तर, विशेष सापटी रकमको लगानी खोजिँदैन । सेयर बजार, घरजग्गालगायत फाइदा हुने अन्य क्षेत्रमा लगानी र मुद्दतीमा राख्न पाइने ती अधिकारीको भनाइ छ ।
विशेष सापटी कुल रकमको ८० प्रतिशत लिन मिल्ने व्यवस्था छ । जस्तै कुनै सञ्चयकर्ता कर्मचारीको १ करोड रुपैयाँ सञ्चय कोष जम्मा भएको छ भने उसले ८० लाख रुपैयाँ विशेष सापटी लिन पाउँछ । सञ्चय कोषले साउन १ गतेदेखि बचत र कर्जा दुवैको ब्याजदर घटाइसकेको छ ।
कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । गत आर्थिक वर्षमा ७ प्रतिशत थियो । यसमा ०.५ प्रतिशत बिन्दुले घटेको छ । यस्तै कोषले सञ्चयकर्तालाई दिने कर्जाको ब्याजदर पनि घटेर ७.७५ प्रतिशत कायम गरेको छ ।
गत आर्थिक वर्षमा कोषले सञ्चयकर्ताबाट ८.२५ प्रतिशत ब्याज लिएको थियो । ब्याजदर अन्तर (स्प्रेड) पनि घटेर १.१ प्रतिशत मात्र हुने भएको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ ।
सञ्चय कोषको सम्पत्ति÷दायित्व गत आर्थिक वर्षमा १५.३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम १२ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा ३ खर्ब ८४ अर्ब ०१ करोड रुपैयाँ थियो ।
संचयकर्ताको सञ्चित रकम २०७७ असार मसान्तमा ३ खर्ब ४९ अर्ब ६३ करोड रहेकोमा २०७८ असार मसान्तमा १३.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ९६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।