काठमाडौं । सरकारले स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेपछि सेयर बजार उचालिएको छ । यसको असर बुधबारको बजारमा पनि देखिएको छ ।
बुधबार बजार ९२.१६ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५०७.७० अंकमा पुगेको छ । तरलता अभाव कम गर्न आयातमा निरुत्साहित र सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्ने व्यवस्थाले मंगलबारदेखि बजार उकालो लागेको हो । यसबाट तत्कालै वित्तीय प्रणालीमा १ खर्ब रुपैयाँ तरलता वृद्धि हुने अनुमान छ ।
बुधबार सबै सूचकमा हरियाली देखिएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम् सिमेन्ट लिमिटेड, अपर तामाकोसी र बरुण हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
यस्तै आधादर्जन कम्पनीको मूल्य ९ प्रतिशत माथि बढेको छ । बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
हिमालयन डिष्टिलरीको प्रतिकित्ता ७ हजारमा ६८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
अहिले बैंकसँग लगानी गर्ने रकम शून्यप्राय छ । कर्जा निक्षेप अनुपात (सीसीडी) ९१.१४ प्रतिशत पुगेको छ । बैंकिङ प्रणालीमा १७ अर्ब रुपैयाँ मात्र अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । सरकारले पुँजीगत खर्च बढाएमा बैंकिङ प्रणालीमा तरलता बढ्ने छ । यसले सेयर बजार बढाउन ठूलो सहयोग पुग्ने छ ।
यो पनि हेर्नुहोस
आयातमा कडाइ र निक्षेप गणनाको असर सेयर बजारमा, लगानीकर्ता ‘पर्ख र हेर’ कै अवस्थामा