काठमाडौं । केन्द्रीय बैंकले केही वस्तुको आयातमा कडाइ गर्नुका साथै सरकारले स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेपछि त्यसको असर सेयर बजारमा परेको छ ।
लामो समयदेखि तरलता अभाव हुँदा सेयर बजारमा त्यसको प्रत्यक्ष असर परेको थियो । तरलता अभाव कम गर्न आयातमा निरुत्साहित र सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्ने व्यवस्थाले लगानीकर्ता मंगलबार उत्साहित भएका छन् ।
केन्द्रीय बैंकले १६ वटा विलासी वस्तुहरू आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी, स्थानीय तहको सञ्चित कोषमा जाने रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था भएसँगै लगानीकर्ता अब बजारमा तरलता आउने आसमा बसेका छन् ।
अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषको ८०५ रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसबाट तत्कालै वित्तीय प्रणालीमा झन्डै १ खर्ब रुपैयाँ तरलता वृद्धि हुनेछ । यो सेयर बजारका लागि निकै सकारात्मक पाटो देखिएको छ ।
यस व्यवस्थाले आयातमा कडाइ भई आन्तरिक उत्पादनमूलक क्षेत्रमा लगानी बढ्ने देखिएको छ । यस्तै, आयातकर्ताले मार्जिन राख्नुपर्दा बैंकहरूमा निक्षेप पनि वृद्धि हुन जानेछ । यसबाट तरलता सहज हुनेछ ।
यी २ व्यवस्थाले लगानीयोग्य रकम सहज हुने र यसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्ने देखिएको छ ।
दुई महत्वपूर्ण समाचार बाहिरिएपछि मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.७३ अंकले बढेको छ । सोमबार १७.९३ अंकले सूचक घटेर २३५८.८१ बिन्दुमा रोकिएकाे थियाे भने मंगलबार २४१५.५५ बिन्दुमा पुगेर रोकिएको छ ।
सरकारले ८० प्रतिशत निक्षेपमा गणना गर्न दिए पनि ठूलो परिमाणमा तरलता बजारमा जाने अवस्था छैन । आयातमा कडाइ हुँदा पनि त्यसले तरलता सहजमा खासै ठूलो सहयोग पुर्याउने सम्भावना छैन । तैपनि बजारमा मंगलबार यी दुई सरकारी निर्णयले उत्साह ल्याएको छ ।
अहिले बैंकसँग लगानी गर्ने रकम शून्यप्राय छ । सरकारले पुँजीगत खर्च प्रवृत्तिलाई सुधार्न सकेको छैन । बजारमा पैसाको चक्र नै बिग्रिएको छ । सर्वसाधारण तथा व्यापारीहरू बैंकमा पैसा राख्नुभन्दा घरमै राख्न रुचाइरहेका छन् । बैंकले भनेको समयमा आफूले राखेको रकम नै दिन नसक्ने हुन्र कि भन्ने आशंकामा आफूसँग भएको रकम घरमै राख्दा बैंकमा निक्षेपको फ्लो घटेको छ । यी सबै कुराले गर्दा लगानीकर्ता अझै 'पर्ख र हेर' कै अवस्थामा छन् ।
मंगलबार २ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । छोटो अवधिमा बजारमा अस्वभाविक गिरावट आएको हो । ४ महिनाको समयमा बजार झन्डै १ हजार अंक गुमाउन पुग्यो । त्यस्तै करिब १२ खर्ब रुपैयाँ बजार पुँजीकरणमा ह्रास आयो । ४ महिनाकाे अवधिमा भएको यस गिरवाटलाई निकै अस्वभाविक मानिएको छ ।
यति बेला सस्तो मूल्यमा सेयर किनेर लाभांशसमेत हात पार्न सकिने अवस्था छ । यसकारण अहिले सेयर खरिद गर्दा घाटाभन्दा लाभको सम्भावना अधिक हुन सक्ने विश्लेषण पनि भइरहेका छन् ।
यस दिन २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ ।