काठमाडौं । सञ्चयकर्ताहरुले धमाधम विशेष सापटीअन्तर्गत पैसा सापटी लिएर वाणिज्य बैंकको मुद्दतीमा राख्न थालेपछि अहिले सञ्चय कोषलाई पनि तरलता व्यवस्थापन गर्न समस्या भएको छ ।
बैंकले मुद्दतीमा आकर्षक ब्याजदर दिन थालेपछि सञ्चयकर्ताले धमाधम रकम निकालेर बैंकमा राख्न थाल्दा कोषले थप ऋण दिन नसक्ने अवस्था आएको हो ।
कोषको अवस्था अहिले वाणिज्य बैंकहरुको जस्तो भएको छ । कोषले सञ्चयकर्तालाई औसत ७.६ प्रतिशत ब्याज दिइरहेको छ । बैंकले मुद्दती निक्षेपमा १०.०५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । यस्तै पुनः ब्याजदर बढाउने हल्ला चलेपछि सञ्चयकर्ताले धमाधम सञ्चय कोषको रकम निकाल्ने त्रास कोषलाई छ ।
कुल सञ्चय कोष रकमको ८० प्रतिशतसम्म निकाल्न पाउने व्यवस्था छ । अहिले दैनिक ३० करोड रुपैयाँभन्दा बढी रकम विशेष सापटीमा जान थालेपछि व्यवस्थापन गरिएको सबै स्रोत सकिन लागेको कोषका एक अधिकारीले क्यापिटल नेपाललाई बताए ।
झन्डै साढे २ प्रतिशत बढी ब्याज पाउने लोभमा सञ्चयकर्ताले सञ्चय कोषबाट धमाधम पैसा निकाल्दा समस्या आउन थालेको ती अधिकारीको भनाइ छ ।
कोषलाई अहिले घर बनाउन, जग्गा किन्न र जलविद्युत् परियोजनामा प्रतिबद्धता जनाएको रकमसमेत दिन हम्मे परेको ती अधिकारी बताउँछन् ।
कोषबाट ठूलो रकम बाहिर जान थालेपछि कोषले विशेष सापटीको ब्याजदर बढाउने योजना रहेकोे सुनाए । कोषले प्रत्येक ६/६ महिनामा ब्याजदरमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ ।
‘व्यवस्था भए पनि कोषले अहिलेसम्म अर्धवार्षिक रुपमा ब्याजदर पुनरावलोकन गरेको छैन । यसपटक गर्नुपर्ने अवस्था आउन लागेको छ’ ती अधिकारीले भने, ‘यही अवस्था हो भने विशेष सापटीको ब्याजदर बढाएर भए पनि कोषबाट पैसा बाहिर जान नदिने तयारी गर्नुपर्ने भएको छ ।’
तर, अवस्था ब्याजदर बढाउनुपर्ने भए पनि कोषले तत्काल यस विषयमा निर्णय गरिनसकेको बुझिएको छ । लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) को अवस्था आएपछि मंसिर १ देखि बैंकहरू मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् ।
सञ्चय कोषमा निजामती, सेना, प्रहरी, शिक्षकलगायत गरी ६ लाख बढी सञ्चयकर्ता जोडिएका छन् । कोषबाट विशेष सापटी लिएर सञ्चयकर्ताले विभिन्न बैंकमा मुद्दती निक्षेपमा राख्ने गरेको कोषले गरेको अध्ययनले देखाएको छ । कोषमा राख्नुभन्दा बैंकको मुद्दती निक्षेपमा राख्दा साढे २ प्रतिशत बढी ब्याज आउने भएपछि सञ्चयकर्ताले यसो गर्न थालेका हुन् ।
घरजग्गा किन्न लिएको सापटी बैंकको मुद्दती निक्षेपका अन्य प्रयोजनमा खर्च गर्न पाइँदैन । जे प्रयोजनका लागि लिएको हो त्यसमा मात्र लगानी गर्नुपर्छ । उक्त विशेष सापटी रकमको लगानी खोजिँदैन । सेयर बजार, घरजग्गालगायत फाइदा हुने अन्य क्षेत्रमा लगानी र मुद्दतीमा राख्न पाइने ती अधिकारी बताउँछन् ।
सञ्चय कोषले साउन १ देखि बचत र ऋण दुवैको ब्याजदर घटाइसकेको छ । कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । गत आर्थिक वर्षमा ७ प्रतिशत थियो । यसमा ०.५ प्रतिशत बिन्दुले घटेको छ । यस्तै कोषले सञ्चयकर्तालाई दिने कर्जाको ब्याजदर पनि घटाएर ७.७५ प्रतिशत कायम गरेको छ ।
गत आर्थिक वर्षमा कोषले सञ्चयकर्ताबाट ८.२५ प्रतिशत ब्याज लिएको थियो । ब्याजदर अन्तर (स्प्रेड) पनि घटेर १.१ प्रतिशत मात्र हुने भएको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ ।
सञ्चय कोषको सम्पत्ति÷दायित्व गत आर्थिक वर्षमा १५.३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम १२ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा ३ खर्ब ८४ अर्ब १ करोड रुपैयाँ थियो ।
संचयकर्ताको सञ्चित रकम २०७७ असार मसान्तमा ३ खर्ब ४९ अर्ब ६३ करोड रहेकोमा २०७८ असार मसान्तमा १३.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ९६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
यो पनि हेर्नुहोस
ब्याजमा लोभिँदै सञ्चयकर्ता, सञ्चय कोषबाट दैनिक ३० करोड ऋण निकालेर बैंकको मुद्दतीमा