काठमाडौं । सेयर बजारलाई अस्थिर बनाउने खेल जारी रहेको छ । निकै उतारचढावपूर्ण देखिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.१८ अंकले घटेर २५०८.९१ मा रोकिएको छ ।
सोमबार २५४६ मा रोकिएको नेप्से सूचक मंगलबार कारोबार सुरु भएको एक घण्टाभित्र ४५ अंक बढेर २५९० अंकसम्म पुगेको थियो । त्यसपछि भने घट्न थालेको बजार निरन्तर घट्दै गयो । पौने २ बजेअघि सूचक २५३२ अंकसम्म झर्यो । त्यसपछि सुधारिएर २५५५ सम्म चढेको सूचकले अन्तिम समयमा भने निरन्तर घटेर बन्द भयो ।
यद्यपि बन्द हुनुअघि सूचक २५०५ मा थियो । दैनिक कारोबारमा एक पटक उचाल्ने र फेरि पछार्ने खेलले दिनहुँजसो निरन्तरता पाउँदै आएको छ । सोमबार पनि नेप्से सूचक २५१३ मा कारोबार सुरु भएको बजार बढेर २५४९ सम्म चढेको थियो । त्यसपछि झण्डै ९० अंक नै तल झरेर २४३८ सम्म झरेकोमा कारोबार बन्द हुँदा भने बजार करिब ३३ अंकले बढेर २५४६ अंकमा रोकिएको थियो । यस्तो ट्रेन यसअघिका कारोबारहरुमा पनि देखिन्छ ।
खासगरी वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, मौद्रिक नीतिमार्फत सेयरधितो एकल ग्राहक कर्जाको ४ र १२ करोड रुपैयाँको सीमा जस्ता कारणहरुले निरन्तर बजार घट्दै आएको छ । सोमबार मात्रै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा सेयर बजार सुधारका लागि लगानीकर्ताहरु भनिएकाहरुको एउटा समूहले आन्दोलन गर्ने घोषणा भएको छ ।
यद्यपि त्यो आन्दोलनले कस्तो परिणाम ल्याउँछ आगामी दिनमा देखिने छ । जब-जब बजार घट्छ, त्यसपछि लगानीकर्ताका झुण्डहरु बजार सुधारको आवाज उठाउन थाल्छन् । र, फेरि बजार बढ्न थालेपछि सुस्ताउँछन् । यस्तो स्थितिले नेपालको सेयर बजार कस्को हातमा छ भन्ने देखाउँछ । त्यसको असर मंगलबार सुरुवाती समयमा बजार उचाले पनि फेरि घटाएरै कारोबार गरिछाडे ।
खासगरी धितोपत्र दलाल व्यवसायी केही ठूला भनिएका लगानीकर्ता र नियमकहरुको मिलोमतोमा बजारबाट खेलाइ-खेलाइ साना लगानीकर्ताहरुलाई अत्याएर सेयर खरिदको प्रपञ्च गरिरहेका छन् । यसको सबैभन्दा ठूलो मारममा साना लगानीकर्ता परेका छन् । त्यसतर्फ कुनै निकायले चासो दिएको छैन ।
गत साता न्यून रुपमा भएको कारोबार यो साता भने केही बढेको देखिन्छ । तर, आइतबार र सोमबारको तुलनामा मंगलबार २५ प्रतिशतभन्दा बढीले कारोबार रकम घटेको छ । मंगलबार ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
मंगलबार सेयर बजार सूचक घटाउन १६० कम्पनीको मूल्यले असर गरेको छ । आइसीएफसी फाइनान्सको सबैभन्दा धेरै ७.६५ प्रतिशतले मूल्य गिरावट आएको छ ।
ठूला अन्तरमा बजार सूचक घटे पनि मंगलबार २६ कम्पनीको सेयर मूल्य भने वृद्धि भएको छ । तर, सबैभन्दा बढी मूल्य बढ्ने सूचीमा म्युचअल फण्डहरु छन् । यस दिन प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै १२ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो पनि हेर्नुहोस
खेलाइखेलाई घटाउने प्रपञ्च, २८ अंकले बढेको सेयर बजार २१ अंकले घटेर बन्द