काठमाडौं । मौद्रिक नीति समीक्षामा लगानीकर्ताको गुनासो सम्बोधन नभएको भन्दै केही लगानीकर्ताहरुको समूहले खेलाइखेलाई लगानीकर्तालाई अलमल्याएर त्रासमा राखी सेयर बजार घटाउने प्रयास थालेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समीक्षाको पहिलो असर आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८० अंकले घटेको थियो । तर, कारोबार रकम भने गत साताभरिको भन्दा बढी भएको थियो । त्यसले सोमबार बजार केही बढ्ने नभए स्थिर हुने अनुमान गरिएको थियो ।
तर, सुरुवाती आधा घण्टामा आइतबारको तुलनामा बजार करिब २८ अंकले बढेर २६७७ सम्म पुगेको थियो । त्यसपछि भने बजार घटाउने र बढाउने प्रतिस्पर्धा कायम राख्दै साढे १२ बजेपछि निरन्तर घटाउने कोसिस भयो । यद्यपि त्यसबीचमा पनि बजार बढ्ने पर्याप्त कोसिसहरु भए ।
त्यसको असर २६२२ सम्म झरेको बजार कारोबार रोकिँदा २१.४८ अंकले घटेर नेप्से २६३० अंकमा रोकिएको छ । यसले सामान्य लगानीकर्तामा त्रास सिर्जना गर्ने र सेयर बिक्री चाप बढाउन लागिपरेको देखिन्छ ।
यस्तो बेलामा सानो-सानो सेयर लिएर बस्ने लगानीकर्ताहरु बढी पेनिक हुने गर्छन् । बजार अझै घट्ने भन्ने आँकलनमा सस्तो मूल्यमा सेयर बिक्री गर्छन् । तर, ठूला र सीमित लगानीकर्ताहरुले यसको फाइदा उठाउँदै बजार आफ्नो पक्षमा पार्ने गर्छन् ।
खासगरी मौद्रिक नीतिमा सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा खुकुलो हुने अपेक्षा लगानीकर्ताको थियो । तर, मौद्रिक समीक्षाले यस्तो कुनै निर्णय गरेन । जसको असर आइतबार र सोमबारको बजारमा पनि परेको छ ।
आइतबार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार घटेर ४ अर्ब ८९ लाख रुपैयाँमा सीमित भएको छ । यसले आइतबारको आशलाई सोमबार थप निराश बनाउने संकेत गरेको छ ।
यद्यपि मंगलबार केही समय बजार उचालिएर कारोबार हुने परिस्थिति निर्माण गरेको छ । सोमबार १२२ कम्पनीको मूल्य घट्दा ६० कम्पनीको मूल्य बढेको छ । आइतबार जम्मा ६ कम्पनीको मूल्य बढेको थियो । आइतबार करिब सर्किट लेभलमा मूल्य बढेको आइसीएफसी फाइनान्सको सोमबार सर्किट लागेर मूल्य घटेको छ ।
चन्द्रागिरी हिल्सको ५.२ प्रतिशत घटेको छ भने यसै सातादेखि कारोबार सुरु गरेको न्यादी हाइड्रोपावर र सामलिङ हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । उता महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै ६१ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।