काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा थप लगाम लगाएपछि सेयर बजारमा उत्साह देखिएको छ । आइतबार राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई उच्च ब्याजदरको औसतमा १० प्रतिशतले मात्र बढाउने पाइने व्यवस्थासहितको निर्देशन दिएको थियो । जसले ब्याजदर बढ्दा पनि १० प्रतिशतभन्दा नजाने आँकलन भएसँगै सेयर बजार उकालो लागेको हो ।
गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु तरलता व्यवस्थापन, ब्याजदर र वित्तीय प्रणालीका बारेमा व्यापक छलफल गरेसँगै आइतबार खुलेको सेयर बजार सम्हालिँदै साढे १.३८ अंकले मात्र घटेको थियो ।
लगतै आइतबार केन्द्रीय बैंकले दिएको निर्देशनले बजारमा केही उत्साह थपिएको हो । कारोबार खुल्नेबित्तिकै १५ मिनेटभित्र बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबारको तुलनामा ४० अंकले बढेर २७२९ सम्म पुगेको थियो । तर, त्यसपछि भने बजार केही बढ्ने र केही घट्ने गर्दै अन्तिम समयमा २६.४४ अंकले बढेर २७१५.३५ अंकमा पुगेकाे छ ।
आइतबारको केन्द्रीय बैंकको निर्देशनपछि बैंकहरु ब्याजदर बढाउने कि नबढाउने भन्नेमा विभाजित छन् । सरकार र केन्द्रीय बैंक र निजी क्षेत्रको मनसाय ब्याजदर नबढोस् भन्ने पक्षमा छन् भने केही बैंकहरु ब्याजदर बढाउने पक्षमा छन् । केन्द्रीय बैंकको पछिल्लो निर्देशनले निक्षेपको ब्याजदर १० प्रतिशतमाथि जाने संभावना तत्काललाई देखिएको छैन ।
मंसिरमा निक्षेपको ब्याजदर बढेमा ब्याजको आधार दर बढ्ने त्यसले कर्जाको दरलाई पनि बढाउने संभावना रहन्छ । त्यसैले मंसिरमा ब्याजदर नबढोस् भन्ने सबै पक्षको चासो छ । ब्याजदर नबढेमा बजारले केही गति लिन सक्छ । यद्यपी कम्पनीहरुको लाभांश घोषणा, मूल्य समायोजन, तरलता असहजताका कारण रकम व्यवस्थापनमा समस्याले सेयर बजार खुम्चिन सक्छ ।
पछिल्लो समय सेयर कारोबारमा देखिएको गिरावटले पनि त्यसको संकेत गरेको छ । सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो आइतबारको भन्दा बढी हो । आइतबार ४ अर्ब ९ करोड रुपैयाँमा बजार खुम्चिएको थियो ।
बढेको बजारमा बोटलर्स नेपाल तराइ, मानुसी लघुवित्त र तेह्रथुम पावरले सकारात्मक सर्किट लगाएर कारोबार गरेका थिए । यस्तै महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै ४.४ प्रतिशतले घटेको छ ।
त्यस्तै सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा दरिएको महालक्ष्मी विकास बैंकको ३५ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार २० कम्पनीको मूल्य घट्दा १६२ कम्पनीको मूल्य बढेको छ ।
यो पनि हेर्नुहोस
ब्याजदरको विषयमा बैंकर विभाजित, ६० प्रतिशत सीईओ नबढाउने, संघका अध्यक्ष बढाउने पक्षमा
ब्याजदर नबढाउन बैंकर्स संघको भद्र सहमतिको खोजीमा बैंकरहरू, ‘वीनवीन’को सम्भावना कति ?