काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारमा साताको तेस्रो दिन मंगलबार पनि उछाल आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७८.८२ अंकले बढेर २७५१.०७ अंकमा पुगेको छ । मंगलबार नेप्से सूचकलाई यो रफ्तारमा बढाउन १७९ कम्पनीहरुले सहयोग गरेका छन् ।
मंगलबार ७ वटा कम्पनीहरुमा १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको छ भने १२ वटा कम्पनीको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ । सोमबार पनि २० कम्पनीको सेयर मूल्यमा सर्किट लागेको थियो । सोमबार बजार सूचक पनि ८७.८२ अंकले बढेको थियो भने । आइतबार साढे २७ अंकले बढेको थियो ।
पछिल्लो ३ दिनमा मात्रै सेयर बजार सूचक १९४ अंकले बढेको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकको लगाम, सेयरधितो कर्जामा केन्द्रीय बैंकले पुनरावलोकन गर्ने चर्चा, निर्वाचन आयोगद्धार चैत ५ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस, ब्रोकरहरुद्धारा सेयर कारोबारलाई सहज बनाउन थप धितोको व्यवस्थालगायतका कारणले सेयर बजारमा उछाल आएको हो ।
यो वर्ष चुनावी वर्ष भएको र चुनावमा राजनीतिक दलहरुले अधिक खर्च गर्दा यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्छ । नेपालमा हरेक निर्वाचनपछि सेयर बजारले नयाँ उचाइ लिने गरेको पाइन्छ । स्थानीय निर्वाचनपछि बजारले थप उचाइ लिने संभावना देखिन्छ । त्यसमाथि अर्को वर्ष संघीय निर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसले पनि बजारलाई चलायमान बनाउने संभावना छ ।
यद्यपि बेला-बेलामा बजारमा सुधारहरु नहुने भने हैन । सोमबार र मंगलबारको कारोबार प्यार्टन उस्तै देखिन्छ । सुरुमा उच्च विन्दु पहिलाएर अघि बढेको नेप्से त्यसपछि फेरि घट्ने र विस्तारै बढ्ने गर्दै अन्तिम समयमा उच्च अंक कायम गर्ने तर्खरमा देखिन्छ ।
मंगलबार कारोबार सकिन आधा घण्टाअघि २७५१ अंकमा रहेको नेप्से बन्द हुँदा सोही अंकमा रोकिएको छ । त्यसले बुधबार पनि बजार बढ्ने संकेत गरेको छ । तर, निरन्तर ३ दिन बजारमा उछाल आएकाले केही सुस्तता देखिन सक्छ । बजार बढे पनि ६ वटा कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ ।
मंगलबार कारोबार रकममा पनि व्यापक सुधार आएको छ । सोमबार ४ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार झण्डै ५० प्रतिशतले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । विगतमा धेरै दिनदेखि ४ अर्ब रुपैयाँभन्दा तल कारोबार भइरहेको थियो । यो कारोबार एक महिनायताकै उच्च हो ।
गत असोज १० गते ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसअघि असोज ७ गते ७ अर्ब ६२ करोडको सेयर कारोबार भएको थियो । यसबीचको १७ करोबार दिन मध्ये १० दिन ४ अर्ब रुपैयाँभन्दा कमको कारोबार भएको थियो ।
मंगलबार कामना सेवा विकास बैंकको ४४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन सबै सूचकमा हरियाली छाएको छ ।
यो पनि हुर्नुहोस
ब्याजदरमा स्थिरता र सेयरधितो कर्जा खुकुलो बनाइने चर्चाले बजारमा उछाल, मंगलबार पनि बढ्ने संकेत
ब्रोकरले बिना जानकारी धितो हालेपछि सेयर बजार उचालियो, सतर्कता अपनाउने बेला