काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार देखिएको छ । आइतबार बजारमा २७.५१ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५८४.५२ अंकमा पुगेको छ ।
आइतबार व्यापार बाहेक सबै परिसूचकमा हरियाली छाएको छ । सकारात्मक माहोल निर्माण गर्न लगानीकर्ताहरु हरेक हिसावले तल्लिन देखिँदा बजार बढाउन सहयोग गरेको हो ।
विगतमा ब्रोकरहरुले धितो शून्य बनाएर लगानीकर्तालाई अप्ठ्यारो बनाएको गुनासोका बीच गत सातादेखि ब्रोकरहरुले बिना सूचना लगानीकर्ताको धितो राखिदिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
यसले लगानीकर्ताहरुले सेयर बजार बढ्ने बेला भएको भनेर व्याख्या गर्न थालेका छन् । यद्यपि बजार बढ्दा कमजोर भनिएका कम्पनी र क्षेत्रतर्फ नै केन्द्रित देखिएको छ । यसले लगानीकर्ताहरुले छिटो मूल्य अभिवृद्धि खोजिरहेको प्रतित हुन्छ ।
गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेसँगै एक दिन ६० अंकले बजार बढे पनि दोस्रो दिन भने घटेको थियो । यसले आइतबार बजार बढेको देखिए पनि पुनः नघट्ला भन्न सकिन्न ।
आइतबार २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ बराबरको ५८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । आईसीएफसी फाइनान्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ । फाइनान्सको प्रतिकित्ता ७०९ मा १५ करोड ९१ लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
वेस्ट फाइनान्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । वेष्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो प्रगति गरेपछि लगानीकर्ता झुम्मिएका हुन् ।
वेष्टको निष्क्रिय कर्जा अनुपात घटेको र नाफा पनि अधिक बढेको छ । आइतबार उत्पादनमूलक समूहमा उछाल आएको छ । यस समूह १०५ अंकले बढेको छ । विकास बैंक, जलविद्युत र वित्तको वृद्धि पनि राम्रो रहेको छ ।