काठमाडौं । नेपाल वायुसेवा निगमको सुधारको खाका तयार पारी कम्पनी मोडलमा लैजाने प्रस्ताव अघि सारेकै कारण महाप्रबन्धक डिमप्रकाश पौडेलविरुद्ध त्यहाँका कर्मचारीहरु एक भए ।
विशेष गरेर महाप्रबन्धकको जिम्मेवारी लिएसँगै त्यहाँभित्र हुने विभिन्न अनियमिततादेखि निर्देशकहरुको मनोमानीलाई रोकेसँगै भित्र भित्र सल्किएको असन्तुष्टिको आगो कम्पनी मोडलमा लैजाने प्रारम्भिक मस्यौदा तयार पारेको बाहनालाई बनाएर आगो सरी सल्कियो ।
यतिसम्म भयो कि आन्दोलनकारीहरुले उनलाई कार्यालयमा प्रवेश रोक लगाउनेदेखि बर्खास्ती गर्नसमेत सफल भए । राजनीतिक नियुक्ति लिएका महाप्रबन्धक पौडेल कर्मचारीहरुको आन्दोलनकै कारण निगमबाट बाहिरिएका हुन् । पौडेललाई २०७७ असोज २२ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले महाप्रबन्धक नियुक्त गरेका थिए ।
राजनीतिक दबाब झेल्न नसकेकै कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा सोमबार मन्त्रिपरिषदको बैंठकले ४ वर्षका लागि युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।
अधिकारी नियुक्त भएको खवर सार्वजनिक भएसँगै उनी विरुद्धका समाचारहरु बाहिर आएका छन् । निगममा रहँदा यौन दुराचार गरेको आरोप लागेका व्यक्ति र अर्थ विभाग प्रमुख हुँदा आर्थिक हिनामिना गरेको आरोप उनि माथि लागेको छ ।
अहिले सामाजिक सञ्जाल अधिकारीको कार्यकारी अध्यक्षमा नियुक्ति र उनलाई नियुक्तिका लागि दबाब दिने एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको विरोध भइरहेको छ ।
५० अर्ब रुपैयाँ बढी ऋणमा डुवेको निगमलाई प्रतिस्पर्धी बनाउनका लागि योग्य व्यक्ति ल्याउनुपर्ने ठाउँमा विवादित छवि भएको व्यक्तिलाई नियुक्त गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको उछिटो काटिरहेका छन् ।
अहिलेकै अवस्थामा निगम सञ्चालनमा हुन सक्दैन भन्ने सबैलाई जगजाहेर छ । तर, यो कुरा कर्मचारीहरु स्वीकार गर्न तयार छैनन् । तर, राजनीतिक भागबन्डाकै कारण अधिकारीले नियुक्त पाएसँगै ११५ दिनसम्म ट्रेड युनियनले गरेको आन्दोलनको उपलब्धि यही हो त ? भन्ने प्रश्नसमेत उठेको छ ।
जसले निगमको छवि उँचो बनाउन र प्रतिस्पर्धी बनाउनका लागि कम्पनी मोडलमा लैजाने तयारी गरिरहेका तत्कालिन महाप्रबन्धक पौडलको राजीनामा माग गर्दै आन्दोलन गर्ने ट्रेड युनियनकर्मीहरुले अब विवादित छवि भएका कार्यकारी अध्यक्ष अधिकारीलाई स्वीकारलान वा विरोध गर्लान भन्ने विषय सर्बत्र चासोका साथ हेरिएको छ ।
काम नगर्ने, राजनीति गर्ने, गुटबन्दीमात्र गर्ने र घाटामा लैजान प्रमुख भूमिका खेलेको आरोप कर्मचारीहरुलाई लागिरहेको बेला विवादित व्यक्तिलाई नियुक्त गरेको विषयमा विरोध गरेर निर्णय सच्याउन सरकारलाई दबाब दिन्छन् वा स्वागत गरेर कार्यकारी अध्यक्षसँगै मिल्छन् त्यो भने हेर्न बाँकी छ ।
आन्दोलनको नेतृत्व गर्दै आएको निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले कार्यकारी अध्यक्षको नियुक्तिको विषयमा भएको विवाद ट्रेड युनियन छलफल गरेर निर्णय निकाल्ने जानकारी दिए ।
‘उहाँको नियुक्तिको विषयमा विवाद भएको जानकारी हामीले पनि पाएका छौं,उपाध्यक्ष पुनले भने, स्वागत गर्ने वा विरोध गर्ने भन्ने विषयमा निर्णय लिनका लागि हाम्रो बैंठक बस्न लागेको छ’ ।
यो पनि हेर्नुहोस
यौन दुराचार र आर्थिक हिनामिनामा मुछिएका अधिकारी निगममा, पर्यटनमन्त्री र माधव नेपालबीच कुराकानी