काठमाडौं । शक्तिको आडमा यौन दुराचार र आर्थिक हिनामिनामा मुछिएका युवराज अधिकारीलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।
एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको ठाडो दबाबमा विवादित अधिकारीलाई निगमको कार्यकारी अध्यक्षको रुपमा सोमबार बसेको मन्त्रिपरिषदले नियुक्त गरेको हो ।
निगमको अर्थ विभाग प्रमुख हुँदा अधिकारीलाई सहकर्मीलाई यौनदुराचारको मुद्धा लागेको थियो । प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेका थिए। मातहतका कर्मचारीले उनीविरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए।
निगमका ९१ जना कर्मचारीले उनीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अधिकारीविरुद्ध महिला कर्मचारीहरुले २०७४ भदौ २७ गते दिएको पत्र महिला आयोगले १४७ दर्ता नम्बरका साथ २०७४ असोज १ गते दर्ता गरेको थियो।
अधिकारीले कार्यकक्षमा बोलाइ पदोन्नतिका लागि कार्य सम्पादन मूल्याङकनको नम्बर बढाइदिने, विदेशस्थित स्टेशनमा काज मिलाइदिने र राम्रो ठाउँमा सरुवा तथा जिम्मेवारी मिलाइ दिने आदि प्रलोभन दिने गरेका थिए। योसँगै महिला कर्मचारीलाई विदेश घुम्न जान तथा रमाइला गर्नका लागि समेत प्रस्ताव राख्न गरेका थिए।
उनी माथि लागेको आरोप पुष्टि भएपछि मेलमिलाप समेत गरिएको थियो । मेलमिलाप पत्रमा क्षमा मागी आगामी दिनमा सोही किसिमको गल्ती नदोर्होयाउने तथा दुबै पक्षले काँही कतै उजुरी नगर्ने गरी महाप्रबन्धको कार्याकक्षमा बसी होसहवासमा मेलमिलाप गरियो भनि उल्लेख गरिएको छ ।
यौन दुराचारसँगै अधिकारी माथि आर्थिक हिनामिनाको समेत आरोप लागेको छ । अर्थविभागमा रहदा विभिन्न ट्राभल एजेन्सिसँग निगमको टिकट विक्रि गर्दा पैसा माग्ने गरेको देखि निगम भित्रै सामान खरिद गर्दा समेत रकम हिनामिना गरेको आरोप उनि माथि लागेको छ ।
विवादित व्यक्तिलाई शक्तिको आडमा निगमको चाबी बुझाएर सरकारले ठूलो गल्ति गरेको र तत्कालै निर्णय सच्याउनु पर्ने एक पूर्व कार्यकारी अध्यक्षको भनाई छ । ’राष्ट्रिय ध्वजावाहक निगममा विवादित व्यक्तिलाई नियुक्त गरेर राष्ट्रिय छविनै धुमिल बनाएको छ,ती अध्यक्षले भने,सरकारले तत्कालै निर्णय सच्याएर गल्ति स्विकार गर्नुपर्छ’ ।
यसैबीच कार्यकारी अध्यक्षको नियुक्तीलाई लिएर चौतर्फि विरोध सुरु भएसँगै पर्यटनमन्त्री आलेले यस विषयमा आफ्ना पार्टिका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएको मन्त्रिनिवासमा रहेका एक कार्यकर्ताले पुष्टि गरे । विवादित व्यक्तिलाई नियुक्त गरेको भन्दै आफ्नो र पार्टिको नाम मुछिएसँगै पर्यटन मन्त्रीले चासो देखाएर जानकारी गराएको जनाएको छ ।
मन्त्री निकट श्रोतका अनुसार अधिकारीको नियुक्तको विषयमा उनि आफै सन्तुष्ट छैनन् । पार्टि भित्रपनि गुटको भागबन्डामा परेपछि मन्त्रिपरिषदले अधिकारीलाई कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेको थियो । पर्यटनमन्त्री आले भने अधिकारीलाई फिर्ता बोलाउने मुडमा रहेको बुझिएको छ ।