काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तिर्न अर्थ मन्त्रालयसँग सहयोग मागेको छ । निगमले अर्थसँग ६ अर्ब ४० करोड रुपैयाँ मागेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण जहाज पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्दा सञ्चय कोष र नागरिक लगानी कोषलाई साँवा र ब्याजको किस्ता तिर्न नसकेको भन्दै केही दिनअघि निगमले अर्थ मन्त्रालयसँग सो रकम माग गरेको थियो ।
सञ्चय कोष, लगानी कोष, वायुसेवा निगम र अर्थ मन्त्रालयबीच एक वर्षको किस्ता तिरिदिने दिने विषयमा छलफलसमेत भएको थियो । अर्थले एक वर्षको किस्ता तिरिदिने भनेको छ । तर, पछिल्लो समय सञ्चालक समितिले निगमलाई निजीकरण (पब्लिक कम्पनी) मा लैजाने निर्णय गरेसँगै ११ दिनदेखि कर्मचारीहरू आन्दोलितछन् । कर्मचारी आन्दोलनले निगमको कामहरु अवरुद्ध भएका छन् ।
यो पनि हेर्नुहोस
वायुसेवा निगमले किस्ता नबुझाएपछि सञ्चय कोष पुग्यो अर्थ मन्त्रालय, पुँजी वृद्धि गर्न सुझाव
कर्मचारीहरूको आन्दोलनलाई देखाउँदै अर्थ मन्त्रालय त्यो निर्णयबाट पछि हट्न लागेको बताइएको छ । समस्यामा परेको निगमलाई सरकारले पैसा तिरिदिन लागिरहेको बेला कर्मचारीहरू नै सरकारी निर्णयको विपक्षमा लागेको अर्थ मन्त्रालयको आरोप छ ।
सरकारको निर्णयविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालय दुई वर्षसम्मको ऋणको किस्ता तिरिदिने निर्णयबाट पछि हटेको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । ‘लामो समयको प्रयासपछि अर्थ मन्त्रालय निगमलाई रकम दिन तयारी भइरहेको बेला कर्मचारीहरूको आन्दोलनले प्रभावित बनेको छ’, महाप्रवन्धक पौडेलले भने ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले निगमले रकम मागेको र दिने विषयमा निर्णय भने भइनसकेको जानकारी दिए । ‘एकातिरबाट पैसा माग्ने र अर्को तर्फबाट आन्दोलन गर्न त भएन नि, सचिव ढुंगानाले भने, उनीहरूबीच नै कुरा नमिलेपछि कसरी पैसा दिनु ?’
कोरोनाको पहिलो र दोस्रो लहरले गर्दा निगमले विमान उडान गर्न पाएको छैन । उडान गर्न नपाएपछि उसले आम्दानी गर्न सकेको छैन । निगमले सीमित मात्रामा उडान गर्दै आएको छ । सो आम्दानीले संस्थाका कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने बताइएको छ । कोरोना महामारीले निगमको आम्दानी सुकेको अवस्था छ ।
यो पनि हेर्नुहोस
रणनीतिक साझेदारी भित्र्याउन आन्तरिक तयारीमा जुट्यो निगम, पुँजी वृद्धि पनि हुने
जहाज खरिद गर्दा सञ्चय कोष र लगानी कोषबाट लिएको ३४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । चिनियाँ जहाज खरिदको ३ अर्ब रुपैयाँ ऋण पनि अझै बाँकी नै छ । ठूला विमानले असहज बनाएका बेला चिनियाँ जाहाजले निगमलाई थप धरासायी बनाएको छ ।
एयरबस ३३० जहाजको ऋणको किस्ता तिर्न पनि सकेको छैन । दुई थान एयरबस ३२० जहाज खरिद गर्दा सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिइएको थियो । सोको ग्यारेन्टी सरकार बसेको छ ।
एयरबस ३३० जहाज खरिद गर्न नागरिक लगानी कोष र सञ्चय कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण निगमले लिएको थियो । निगमले ऋण तिर्न नसकेपछि साँवामा पुँजीकरण भइरहेको छ । निगमले ब्याजको पनि ब्याज तिर्नुपर्ने अवस्था आएको छ ।
कोरोना महामारीका कारण निगमले आम्दानी गर्न नसकेपछि सरकारले एक वर्षको किस्ता असारभित्रै तिरिदने प्रतिबद्धता व्यक्त गरेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । एक वर्षको किस्ता तिर्ने विषमा मन्त्रालय सहमत भएको उनले जानकारी दिए । ‘यो महिनाभित्र एक वर्षको किस्ता पाउनेमा हामी ढुक्क छौं’ गौतमले भने ।