काठमाडौं । ट्राभल एजेन्सीसँगको मिलेमतोमा यात्रुहरुबाट चर्को शुल्क लिने दुई विदेशी एयरलाइन्सका कर्मचारीलाई चोख्याउने प्रयास सुरु भएको छ । टर्किस एयरलाइन्स र कतार एयरवजेजको मुख्य कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाउँदै आफ्ना कर्मचारीहरुलाई कारवाही नगर्न दबाब दिएको क्यान स्रोतले जानकारी दियो ।
कोभिड १९ को महामारीका बेला चार्टर्ड उडानको नाममा यात्रुहरुबाट ट्राभल एजेन्सीसँगको मिलेमतोमा चर्को शुल्क लिएको भन्दै टर्किस र कतार एयरवेजको मूख्य कार्यालयमा नेपाल अन्य ट्राभल एजेन्सी र व्यवसायीहले उजुरी गरेका थिए ।
सिमित ट्राभल एजेन्सीले एयरलाइन्ससँगको मिलेमतोमा साविकको भन्दा महँगो शुल्क लिएर यात्रुहरुलाई ठगेको भन्दै नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) ले नै ती दुई एयरलाइन्सको मूख्य कार्यालयमा केहि समयअघि पत्राचार समेत गरेको थियो ।
यो पनि हेर्नुहोस्
चार्टर्ड उडानको आर्थिक अनियमिततामा मुछिए कतार एयरवेजका बोगटी र टर्किस एयरलाइन्सकी खान
नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले १५ दिनअघि नै दुई एयरलाइन्सको मुख्य कार्यालयमा चार्टर्ड फ्लाइटका नाममा ठगी भएको विषयमा जानकारी गराउँदै छानविन गर्न पत्राचार गरेको बताए । ‘चार्टर्डका नाममा महँगो टिकटमार्फत यात्रुलाई ठगी भएको देखिएकाले छानविनको माग हामीले राखेका हौं,’ उनले भने ।
संकटका बेला यात्रुहरुबाट चर्काे शुल्क लिएको भन्दै नेपालस्थित टर्किस एयरलाइन्सकी मार्केटिङ तथा सेल्स म्यानेजर बेनाजिर खान र कतार एयरवेजका सेल्स म्यानेजर सारिक बोगटी विवादमा परेका हुन् । उनीहरुले आर्थिक अनियमिता गर्दै सिमित ट्राभललाई मात्र चार्टर्ड फ्लाइटको टिकट जारी गर्ने अनुमति दिएको अरु व्यवसायीहरुको आरोप छ ।
यो पनि हेर्नुहोस्
टर्किस एयरलाइन्स र मेगाबाइट ट्राभलको मिलेमतोमा महँगोमा टिकट, छानबिन गर्दै मन्त्रालय
चार्टर्ड उडानमा महंगो शुल्क लिएको घटना यो पहिलो भने हैन । ती एयरलाइन्सले गत वर्षको लकडाउनका बेलामा पनि यात्रुहरुबाट तेब्बर भन्दा बढी शुल्क लिएका थिए । यो वर्षको निषेधाज्ञामा पनि यात्रुहरुलाई ठग्ने क्रम दोहोरिएको थियो । यात्रुहरुबाट चर्को शुल्क लिएको खवरहरु सार्वजनिक भएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाएको छ ।
पर्यटन मन्त्रालयले गत वर्ष पनि छानबिन समिति नबनाएको भने हाेइन । तर, समितिले बनाएको प्रतिवेदन मन्त्रालयले गुपचुपनै राखेको छ । अहिलेसम्म त्यो प्रतिवेदनमा के के उल्लेख छ र को दोषी छन् भन्ने सार्वजनिक गरेको छैन ।
यो पनि हेर्नुहोस्
गत वर्ष चार्टर्ड उडानमा चर्को शुल्क लिने ट्राभललाई भएन कारबाही, अहिले फेरि नयाँ छानबिन समिति
यसैको फाइदा लिँदै यो पटकको निषेधाज्ञामा पनि सीमित एयरलाइन्स र सिमित ट्राभल एजेन्सीले पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुलाई प्रभावमा पारेर चार्टर्ड उडान गरेका थिए ।
मन्त्रालयकै कर्मचारीहरुको संयोजकत्वमा छानविन समिति बनाउने र आफ्नै कर्मचारीहरु पनि त्यसमा मुछिएकै कारण प्रतिवेदन सार्वजनिक नगरिएको स्राेतको दाबी छ ।
अहिले भने मन्त्रालयबाट क्यानलाई छानविनको जिम्मा दिइएको छ । मन्त्रालय मातहतमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति बनेको छ । यसमा केहि सदस्यहरु निजी क्षेत्रबाट पनि प्रतिनिधित्व छन् ।
यो पनि हेर्नुहोस्
चार्टर्ड उडान र फेक रेस्क्यूको प्रतिवेदन मन्त्रालयमै गुपचुप, मन्त्रीनै चाहँदैनन् कारवाही गर्न
छानबिन समितिले चार्टर्ड उडान गर्ने एयरलाइन्स र ट्राभल एजेन्सीलाई पत्र पठाएर जवाफ मागिरहेको छ । समितिका एक सदस्यका अनुसार छानबिन प्रक्रिया अगाडी बढिरहेको छ ।
छानबिनको क्रममा ती दुई एयरलाइन्सलाई पनि पत्र पठाएको र त्यसको जवाफ पनि आइसकेको बताए । तर, त्यो पत्रको अध्ययन भने नगरिएको र सबैको आएपछि एकैपटक फाइल खोल्ने जानकारी दिए ।
यो पनि हेर्नुहोस्
सीमित ट्राभल एजेन्सीको प्रभावमा चार्टर्ड उडान, नियमित उडान किन खुला नगर्ने ?
प्राधिकरणका महानिर्देशक पोखरेलले चार्टर्ड उडानमा महँगो शुल्क लिएको र यात्रुलाई ठगी भएको भन्ने विषयमा अहिले छानबिन अघि बढिरहेको बताए’ । ‘हामीले अहिले एयरलाइन्स, ट्राभल एजेन्सीहरुको डकुमेन्ट मगाएर र केहिलाई बयान लिएर अनुसन्धान गर्दैछौं,’ उनले भने ।