महामारीलाई कमाउने अवसरको रुपमा लिँदै चार्टर्ड उडानको नाममा चर्को शुल्क लिएको भन्दै टर्किस एयरलाइन्स र कतार एरवेजका दुई कर्मचारीहरु विवादमा परेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै हवाई उडान बन्द भएपछि गरिएको चार्टर्ड उडानमा यात्रुहरुबाट चर्को शुल्क लिएको भन्दै नेपालस्थित टर्किस एयरलाइन्सकी मार्केटिङ तथा सेल्स म्यानेजर बेनाजिर खान र कतार एयरवेजका सेल्स म्यानेजर सारिक बोगटी विवादमा परेका हुन् ।
ट्राभल एजेन्सीसँगको मिलेमतोमा गत वर्षको लकडाउनका क्रममा पनि यात्रुहरुबाट चर्को शुल्क लिएको र यो वर्षको निषेधाज्ञाको क्रममा पनि चर्को शुल्क लिएको भन्दै उनीहरुमाथि छानबिन गर्नुपर्ने भन्दै केही ट्राभल व्यवसायीहरुले पर्यटन मन्त्रालय र क्यानमा उजुरी दिएपछि सम्बन्धित एयरलाइन्सले नै उनीहरुमाथि छानबिन गरिरहेको छ ।
सीमित ट्राभल एजेन्सीहरुसँको मिलेमतोमा आर्थिक चलखेल गर्दै चर्को शुल्क लिएर यात्रुहरुलाई ठगेको भन्दै उनीहरुविरुद्ध एयरलाइन्सको मुख्य कार्यालयमा ट्राभल एजेन्सीहरुले उजुरी हालेपछि ती म्यानेजहरुमाथि छानबिन भइरहेको एक ट्राभल एजेन्सीका सञ्चालकले क्यापिटल नेपाललाई जानकारी दिए ।
ट्राभल एजेन्सी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केही कर्मचारीहरु, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको मिलेमतोमा यात्रुहरुबाट दोब्बरसम्म मूल्य लिएको आरोप उनीहरुमाथि छ। टर्किस एयरलाइन्सका खान गत वर्षको लकडाउनमा पनि चार्टर्ड उडानको महँगो टिकटको विवादमा परेकी थिइन् ।
यात्रुहरुको आरोपपछि अहिले पर्यटन मन्त्रालयले छानबिन समिति बनाएको छ । तर, गत वर्ष पनि समिति बनाएर रिपोर्ट तयार भए पनि सार्वजनिक नगरिएको र कारबाही पनि नभएको भन्दै यो वर्ष पनि कारबाही हुनेमा आशंका ट्राभल व्यवसायीहरुले गरेका छन् ।
याे पनि पढ्नुस्
टर्किस एयरलाइन्स र मेगाबाइट ट्राभलको मिलेमतोमा महँगोमा टिकट, छानविन गर्दै मन्त्रालय
एयरलाइन्स र ट्राभल एजेन्सीका अधिकारीहरुले पर्यटन मन्त्रालयका कर्मचारीहरु र प्राधिकरणका कर्मचारीहरुलाई प्रभावमा पारेर चार्टर्ड उडान गर्दै आएका छन् ।
एयरलाइन्सहरुले नेपालदेखि लन्डनसम्मको भाडा दर सामान्यतः ७० देखि ९० हजार प्रतिव्यक्ति भए पनि निषेधाज्ञाका बेला चार्टर्ड विमानमा एक लाख ४० हजारसम्म लिएका थिए । यात्रुहरुले अमेरिका र क्यानडाका लागि नियमित उडान गर्दा ६ सय डलर भए पनि अहिले १८ सय ९५ डलरसम्म बुझाएका थिए ।
गत वर्ष पनि नेपालस्थित टर्किस एयरलाइन्स र मेगाबाइट ट्राभलको मिलेमतोमा नेपालबाट युरोप र अमेरिका जाने यात्रुलाई महँगोमा टिकट बिक्री गरेका थिए ।
याे पनि पढ्नुस्
गत वर्ष चार्टर्ड उडानमा चर्को शुल्क लिने ट्राभललाई भएन कारबाही, अहिले फेरि नयाँ छानबिन समिति !
यो वर्षको निषेधाज्ञाको बीचमा कतारले ११ र टर्किसले ४ वटा चार्टर्ड उडान गरेको छ । कतार एयरलाइन्सको चार्टर्ड उडानका लागि प्रेसिन्डेट ट्राभलले टिकट बिक्री गरेको थियो । टिकट बिक्री गर्ने ट्राभलले भने एयरलाइन्सले सिस्टममै राखेको मूल्यमा टिकट बिक्री गरेकाले ट्राभलले महँगोमा टिकट नबेचेको एयरलाइन्सकै टिकट महँगो भएको जनाएका छन् ।
याे पनि पढ्नुस्
चार्टर्ड उडान र फेक रेस्क्यूको प्रतिवेदन मन्त्रालयमै गुपचुप, मन्त्रीनै चाहँदैनन् कारवाही गर्न
गत वर्ष पनि लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा टर्किस एयरलाइन्सले अमेरिकाका लागि एक हजार ९ सय डलरमा उपलब्ध गराएको टिकट मेगाबाइट ट्राभलले यात्रुलाई २२ सय ५० डलर मा बिक्री गरेको मन्त्रालयमा उजुरी परेको थियो ।
पछिल्लो पटक टर्किसले १३ सय डलरमा उपलब्ध गराएको टिकटलाई सोही ट्राभलले १६ सयदेखि १६ सय ५० सम्ममा बिक्री गरेको पाइएको हो । त्यस्तै, युरोपका लागि १ हजार ५० डलरमा उपलब्ध गराएको टिकटलाई ट्राभलले १३ सय डलरमा बिक्री गरेको थियो ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा खानको मोबाइल स्विचअफ छ भने बोगटी आफू काठमाडौं बाहिर रहेको र काठमाडौं आएपछि प्रतिक्रिया दिने बताए ।
याे पनि पढ्नुस्
सीमित ट्राभल एजेन्सीको प्रभावमा चार्टर्ड उडान, नियमित उडान किन खुला नगर्ने ?