काठमाडौं। विद्युतीय सवारीसाधन (इभी) ब्रान्ड ‘सेरेस’ नेपाली बजार आउने भएको छ।
सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शो २०२३ मा ‘सेरेस-३’ सार्वजनिक गर्न लागेको हो।
५२.७ किलोवाट आवरको ब्याट्री जडित यो गाडीले ९९ किलोवाट पावर दिने कम्पनीले जनाएको छ। १ सय ९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको सेरेस-३ ले ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
सुरक्षाका लागि यसमा ६ एयरब्याग, इएसपी, इबिए/इबिडी, हिल लन्च एसिस्टेन्स, अटो होल्ड, एचडिसी, टिपिएमएस, लेन डिपार्चर वार्निङ र ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर छन्।
त्यस्तै यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। जसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो, प्यानोरामिक सनरुफ, एलइडी हेडलाइट, अटो फोल्ड ओआरभिएम, इलेक्ट्रिक एड्जस्टेबल सिट, मल्टिड्राइभ मोड, हिटेड फ्रन्ट सिटलगायत फिचर छन्।
दुई भेरिएन्टमा उपलब्ध हुने यो गाडीको मूल्य करिब ५० लाख हुने आँकलन गरिएको छ।
ह्वावेसँग साझेदारी रहेको सेरेसको विश्वका ७० भन्दा बढी देशमा उपस्थिति छ। ह्वावेको सहयोगमा सेरेसले सन् २०२६ सम्म १० लाख विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको छ। त्यस्ता कार विल्कुलै फरक र एडभान्स हुने कम्पनीले जनाएको छ।
हालसम्म सेरेसले १ लाखभन्दा बढी इभी उत्पादन गरी आपूर्ति गरिसकेको छ। सिलिकन भ्यालीमा स्थापना भएको सेरेस ब्रान्ड इभी बजारमा आक्रामक ढंगले अघि बढिरहेको छ।