नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो । यहाँको हरेक कुनामा सुन्दरता छ । हिमाल, पहाड र तराईंको भौगोलिक अवस्थामा प्रकृतिले नेपाललाई सुन्दर वरदान नै दिएको छ ।
प्रकृतिले सुन्दरता थपेको मनोरम क्षेत्र हो । बाजुराको बडिमालिका । समुन्द्री सतहभन्दा ४ हजार २१९ मिटरमा उचाईंमा रहेको बडिमालिकाको सौन्दर्यताले जोकोहीको पनि आकर्षित गराउँछ ।
नजिकै देखिने हिमाल, हरियाली पहाड र भिरालोसँगैको समथर बनावटले बडिमालिका एकपटक सोच्न बाध्य बनाउँछ । वाह ! क्या स्वर्ग छ ।
बडिमालिकातर्फ अघि बढिरहँदा सैपाल हिमाल सँगसँगै हुन्छ । माथि पुगेपछि हिमाल झनै आँखा अगाडि नै । अग्लो स्थानका विशाल फाँटहरुले झन मन लोभ्याउँछ ।
बडिमालिका प्राकृतिक सौन्दर्यताले मात्र होइन धार्मिक मान्यताले पनि प्रख्यात छ । बडिमालिका मन्दिर, जहाँ बर्षैनी हजारौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । यस क्षेत्रमा जनैपूर्णिमाका दिन ठूलो मेला पनि लाग्छ ।
२२ पाटन (हरिया फाँट)हरुमा चरिरहेका घोडा, भेडा, भैंसी र बाख्राहरुको बथानले पनि फाँटको शोभा बढाएको पाइन्छ । रङ्गीचङ्गी फूलहरुले झन सुगन्ध दिने नै भैगो ।
उकालो लाग्दा र ओरालो झर्दा यात्रीहरु र भैंसी तथा बाख्रा हेर्नेहरुले गाउने देउडा भाकाले कानलाई पनि उत्तिकै आनन्द दिन्छ ।
तस्विर: विवेकसिंह ठकुरी