काठमाडौं। आज नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर विश्व पानी दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइन्छ। स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउन संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो।
संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, संवर्द्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरे पनि काठमाडौं उपत्यकाका परम्परागत ढुंगेधारा र अन्य विभिन्न पानीका स्रोत मासिँदै र सुक्दै गएका छन्। सोही कारण उपत्यकाबासी पानीका लागि ट्यांकर र जारमा भर पर्नुपरेको छ।
नेपालमा मानव सिर्जित समस्याका कारण पानीका मूल स्रोत सुक्दै गएका छन्। बिनायोजा सडक कोतरिनु, वन फडानी, बस्ती विस्तारलगायतका कारण पानीका परम्परागत इनार, बोरिङ, ढुंगेधारालगायत स्रोत सुक्दै गएका हुन्।
काठमाडौंमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ। काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भए पनि दैनिक १६ करोड लिटर मात्र केयूकेएल आपूर्ति गर्दै आएको छ । केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्यांकर, जार, बोतल, इनार, बोरिङलगायत स्रोतबाट आपूर्ति हुन्छ।
नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख गोटा पानीको जार बिक्री हुन्छ।
दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतल स्वास्थ्यका लागि हानिकारक रहेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ।
माइक्रोप्लास्टिकको साइज एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो हुन्छ भने यसको अधिकतम आकार ५ मिलिमिटरसम्म हुन्छ । माइक्रोप्लास्टिकभन्दा साना कणलाई नै नोप्लास्टिक भनिन्छ। यो एक मिटरको एक करोडौं भाग हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै लगभग ६ महिनादेखि जार र पानीका बोतल अनुगमन नगरेको अवस्था छ। सोही कारण उपभोक्ता मिति गुज्रिएका जार, पानीका बोतल प्रयोग गर्न बाध्य छन्। स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ। तर, यसको सही अनुगमन र अनुसन्धान गरिएको छैन।
काठमाडौं महनगरको सामाजिक विकास शाखामार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेका छन्, जसमध्ये अनुसार ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, संकटमा परेर लोप हुन लागेको अवस्थाका १० वटा, हराएका २१ वटा र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा छन्।
-1742621171.jpg)
-1742621168.jpg)
-1742621166.jpg)
-1742621163.jpg)
-1742621161.jpg)
-1742621157.jpg)
-1742621156.jpg)
-1742621153.jpg)
-1742621151.jpg)
-1742621149.jpg)
-1742621147.jpg)
-1742621145.jpg)
-1742621144.jpg)
-1742621140.jpg)
-1742621140.jpg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी