बन्दीपुर बजार स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य भए पनि यस आसपासका गाउँ ओझेलमै छन्। बजारनजिकका गाउँमा प्रचुर सम्भावना भए पनि ओझेलमा परेको छ।
त्यसैमध्ये बन्दीपुर गाउँपालिका ६ मा पर्ने सुन्दर गाउँ र धरमपानी प्रमुख हो। बाक्लो गुरुङ बस्ती, शान्त र प्राकृतिक सौन्दर्यले भरिपूर्ण धरमपानीका स्थानीयले जीवित राखेको संस्कृतिले गाउँलाई पृथक राखेको छ।

धरमपानीमा रहेका करिब एक दर्जन होमस्टे (घरबास)मा पर्यटकलाई खान र बस्न गुणस्तरीय सुविधा छ। यी होमस्टेमा स्थानीय परिकारको स्वाद लिन सकिन्छ। होमस्टेमा रातिको खाना, ब्रेकफास्ट र बस्नलाई एक जनाको मात्रै आठ सय रुपैयाँ तोकिएको कन्यादेवी सामुदायिक होमस्टेकी अध्यक्ष लालमाया गुरुङ बताउँछिन्।
बिहानको खानासहित प्याकेज बनाउँदा एक हजार रुपैयाँ तिर्नुपर्छ। होमस्टेमा बस्दा गुरुङ समुदायको परम्परागत चुड्का, घाटुलगायतका नृत्यको अवलोक गर्न सकिन्छ। स्थानीयको आतिथ्य र सद्भावले पर्यटकलाई गाउँको संस्कृति र जीवनशैली बुझ्न र अनुभव गर्न मद्दत गर्दछ।
धरमपानीमा गाउँले दिनचर्याका सबै दृश्य देख्न पाइन्छ। ढिकी–जाँतो, मोही र रक्सी बनाउने परम्परागत विधि प्रमुख आकर्षण हुन्। सालको पातको टपरीमा रैथाने खानाको स्वाद पस्किने परम्पराले धरमपानीको सांस्कृतिक महत्व बढाएको छ।

धरमपानीबाट करिब साढे तीन किमीको दुरीमा हुस्लाङकोटगढी पुग्न सकिन्छ। यहाँबाट सेती नदीका साथै मनमोहक दृश्यहरु अवलोकन गर्न पाइने बन्दीपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ बताउँछन्।
कसरी पुग्ने ?
पोखराबाट यात्रा गर्दा तनहुँको दमौलीबाट बुद्धसिंह मार्ग हुँदै करिब १८ किलोमिटर टाढा छ, धरमपानी। दमौलीको भोर्लेटार चोकबाट बसमा केशवटार, सुखौरा, चिसापानी र हुस्लाङ हुँदै पनि धरमपानी पुग्न सकिन्छ। बस भाडा ३२० रुपैयाँ लाग्छ। डुम्रेबाट बन्दीपुर हुँदै जिपमा बन्दीपुर जाँदा ३५० रुपैयाँ भाडा लाग्छ। दुवैतिरबाट धरमपानी करिब डेढ घण्टामा पुग्न सकिन्छ।
शब्द/तस्विरः विष्णुकान्त घिमिरे





