तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्ने मानिसको ताँती लाग्ने गर्छ। जाडो मौसमसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको छ। प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ। डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै त्यहाँबाट धौलागिरि, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता थुप्रै हिमशृंला देखिन्छ। दमौली बजार, मादी नदी, रिसिंग, सांगे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादि पनि देख्न सकिन्छ।
पौराणिक किम्वदन्तीअनुसार महर्षि वेदव्यासकी माता माछेगन्दसँग प्रेममा थिए, महर्षि परासर। उनीसँगको प्रेमलीला अरुले नदेखून् भन्ने उद्देश्यले महर्षि परासरले कुहिरोको उत्पत्ति गरेको कथन छ भने मनुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको हो पनि भनिन्छ।
काठमाडौंदेखि १६० किलोमिटर र पोखरादेखि ५५ किलोमिटर दूरीमा पर्ने मानुङकोट पुग्न तनहुँ सदरमुकाम दमौलीदेखि १० किलोमिटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नुपर्छ। गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रीले भने दमौलीदेखि करिब १ घन्टा हिँड्नुपर्छ। शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्रै ५ हजार बढी पर्यटक पुग्ने गरेको होटल सञ्चालक बताउँछन्। पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। अहिले त्यहाँ बस्न र खान प्रशस्त होटल, खाजाघरसमेत खुलिसकेका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी