नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)को आयोजनमा आजदेखि ललितपुरको जावलाखेलमा १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।
फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ देखि पुष्प मेला/प्रदर्शनी आयोजना गर्दै आएको छ। तिहार/छठ पर्व नजिकिँदै गर्दा घरआँगन, बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूल उपलब्ध गराउन र गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प मेला आयोजना गरिएको हो।
रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ नारासहित आयोजना गरिएको पुष्प मेला कात्तिक ८ देखि ११ गतेसम्म जावलाखेल खेलमैदानमा सञ्चालन हुनेछ।
प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीका लागि सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्ष राखिएका छन्। प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजक फ्यानले बताएको छ।
प्रदर्शनीमा सहभागी नर्सरी/फर्मले उत्पादन गरेका गोदावरी फूलका ५ प्रजातिमा प्रतिस्पर्धा गराइनेछ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजाति मिनियचर, स्पाइडर, रिफ्लेक्स इन्कर्भ र गोदावरी कट फ्लाबर रहनेछन्। मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइनेछ।
मेलामा नेपालमा व्यावसायिक रुपमा उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका नयाँ प्रजातिका फूल बिरुवा, सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवासमेत प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड बढीको व्यावसायिक कारोबार हुने अनुमान फ्यानको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी