घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे। जताततै खाल्डाखुल्डी। हरेक स्थानमा पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डको ४ किलोमिटर सडक यात्रामा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।
सडक निर्माण समयावधिभित्र सम्पन्न नगर्नु, सम्बन्धित निकायले ध्यान नदिनुजस्ता कारण निर्माण कम्पनीको लापरबाहीले त्यस क्षेत्रका स्थानीय वर्षाैंदेखि धुलो र हिलो झेल्न बाध्य भएका हुन्।
काठमाडौंको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समय सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माणका लागि विभिन्न समय सवारीसाधन आवागमन बन्द गरी कार्य अगाडि बढाए पनि अझै सकिएको छैन।
राजधानी काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजार सम्म पुग्न सकिने सो सडक नेपालको एक प्रमुख व्यापारीक सडक पनि हो। केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई लक्षित गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना थियो। उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको छ।
निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो। केही महिना समय थपेर पुनर्निर्माण थालिएकाले छिटो सम्पन्न गर्ने योजना रहेतापनि अहिलेसम्म जम्मा २० प्रतिशत काम मात्र सकिएको छ।
उक्त सडक खण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० मा सम्झाैता भएकाे थियाे।
यो बाटो बनाउन थालेको साढे दुई वर्ष भन्दा बढी भइसक्यो अझै जस्ताको तस्तै छ। सडक छेउमा व्यवसाय गर्दै आएका होटल सुनसान बन्दै गएका छन् भने कतिपय बन्द भइसकेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी