काठमाडौं । हिन्दू नारीले सप्तऋषिको पूजा आराधना गरी आज देशभर ऋषिपञ्चमी मनाइरहेका छन्। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।
ऋषिपञ्चमीकै अवसरमा टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने मन्दिरमा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन्। माकुरीसहित सप्तर्षिको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ।
काठमाडौं महानगरपालिका–१२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो। महिला भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन्। महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडकबत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ।
महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गरिएको साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिए।
मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य सङ्ख्यामा सहभागिता छ। रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले भक्तजनलाई सहयोग गरेका छ्न्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।