संसद् सचिवालयसँगको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिपरिषदका सबै सदस्यको सहभागितामा दुवै सदनका सबै माननीय सदस्यका लागि ध्यान, योग र अध्यात्मको स्वजागरण कार्यक्रम सञ्चालन गरिएको छ।
सरकारबाट वैशाख २०८१ मा जारी नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाज निर्माणका लागि गरिने योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्न दुवै सदनका माननीयका लागि ’स्वजागरण’ कार्यक्रम गरिएको हो।
प्रत्येक व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, खुसी, प्रेम, सहकार्य, शान्ति तथा ऊर्जा क्षमतालाई जागरण गर्ने विज्ञान र विधिलाई नै स्वजागरण भनिन्छ। ध्यान र योगका विशिष्ट विधि प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावना जागरण गर्न सकिन्छ। यो कार्यक्रम यही विषयको परिचय र प्रयोग गरिएको छ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि एवं सूत्र प्रयोग र अभ्यास गरेका थिए।
तस्बिरः नेपाल फोटो लाइब्रेरी