भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा संघीय र प्रदेश मन्त्रिपरिषदले गरेका भ्रष्टाचारजन्य काम–कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको छ। भ्रष्टाचार गरे पनि नेता र कर्मचारीलाई चोख्याउने उद्देश्यले पाँचवर्षे हदम्याद तोकिन लागेको दाबी गर्दै मार्चपासमा सहभागीले विभिन्न नारा अंकित पोस्टर/पम्पलेटसहित माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध–यात्रा गरेका हुन्।भ्रष्टाचारजन्य कसुरमा कम सजाय तोकिन लागेको दाबीसहित विभिन्न माग राखेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीमा सहभागीले भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको पाँचवर्षे हदम्याद खारेज होस्, गिरिबन्धु, भुटानी शरणार्थी, ललिता निवासलगायत अनियमितता यथाशीघ्र निष्पक्ष अनुसन्धान होस्, बैंक, सहकारी, लघुवित्त मिटरब्याजी पीडितका समस्या तुरुन्त सम्बोधन गरियोस्, सबै शीर्ष नेताका सम्पत्ति छानबिन गर्न नागरिकका तर्फबाट स्वतन्त्र नागरिक आयोग गठन हुनुपर्ने मागसहितका प्लेकार्ड बोकेका छन्।
यस्तै, विद्युत् प्राधिकरणले विभिन्न व्यापारीबाट उठाउनुपर्ने २२ अर्ब २४ करोड रकम तुरुन्त असुल होस्, विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित होस्, वैदेशिक रोजगारका क्रममा विभिन्न माध्यमबाट पीडितको समस्या समाधान होस्, किसान, गरिब, मजदुरलगायतको शिक्षा, स्वास्थ्य, सुरक्षा, व्ययमा सबैको सर्वसुलभ पहुँच स्थापित हुनुपर्ने माग गरिएको छ। नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलधकेलसमेत भएको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी