आज १९ अगस्त। विश्व फोटोग्राफी दिवस।
फोटोग्राफी विज्ञान र कलाको संयुक्त स्वरुप हो । विज्ञानद्वारा आविष्कार गरिएको क्यामेरा र कलात्मक ढंगले यसको प्रयोगबाट सुन्दर फोटो सिर्जना हुने गर्दछ। फोटो र ग्राफी यी दुई भिन्न शब्दद्वारा फोटोग्राफी शब्द बनेको हो। यसको अर्थ प्रकाशको सहायताले चित्र कोर्नु भन्ने लाग्छ।
फोटोग्राफीको परिभाषा जे भए पनि, अर्थ जे लागे पनि काठमाडौंको स्वयम्भू महाचैत्य क्षेत्र वरिपरि फोटो खिच्नेका लागि भने बिहान–बेलुका हातमुख जोड्ने माध्यम हो, घरपरिवारको लागि घरखर्चको जोहो गर्ने माध्यम हो फोटोग्राफी।
स्वयम्भू महाचैत्य क्षेत्र वरिपरि अहिले ५० देखि ६० जनासम्म फोटोग्राफर बस्ने गर्छन्। उनीहरु बिहान ११ देखि साँझ ६ बजेसम्म त्यहाँ आउने आगन्तुकको फोटो खिच्ने गर्दछन्। प्रति फोटो २० रुपैयाँसम्म लिने उनीहरुको दैनिक आम्दानी १५ सयदेखि २५ सयसम्म हुने गर्दछ भने शनिबार अन्य दिनको तुलनामा अलि राम्रो हुने फोटोग्राफर रिदम सुनुवारले बताए।
रिदमले ६ महिनाअघि मात्रै स्वयम्भू क्षेत्रमा फोटो खिच्ने काम थालेका हुन्। उनको स्थायी ठेगाना सिन्धुली भए पनि हाल माछापोखरी बस्छन्। ६ महिना अगाडि क्यामेरा भाडामा लिएर काम सुरु गरेका रिदमसँग अहिले आफ्नै क्यामेरा छ। उनी काठमाडौंको बसाइँ खर्च काटेर पनि आमाबाबुका लागि घरखर्च पठाउने गर्छन्।
उमेरले २६ पुगेका र स्थायी ठेगाना झापा भएका जेम्स नेम्वाङ हाल स्नातक अध्ययन गरिरहेका छन्। उनी ४ वर्षदेखि स्वयम्भू क्षेत्रमा फोटो खिच्ने काम गर्दै आएका छन्। कोरोना महामारीको समय केही असहज भए पनि अहिले काम गरिखाने वातावरण बनेको उनी बताउँछन्। पहिले होटल क्षेत्रमा काम गरेका जेम्सको मासिक तलब १५ हजार मात्र थियो तर अहिले साता दिनमै १५ हजार कमाइ हुने उनले सुनाए।
यहाँ फोटो खिचेर बस्ने सबैसँग आफ्नै क्यामेरा भने छैनन्।ण्उनीहरु प्रत्येक दिनको कमाइ क्यामेरा साहूलाई आधा र आफू आधा राख्ने गरी भाडामा ल्याउने गर्छन्। सुदूरपश्चिम बैतडीका सुरज चन्दसँग पनि आफ्नै क्यामेरा छैन। उनी ६ महिनाअघि सो क्षेत्रमा फोटो खिच्ने काम गर्न आएका हुन्। चिन्ने एक जनासँग दैनिक कमाइको आधा आधा बाँड्ने गरी क्यामेरा ल्याएका उनी यो पेसाप्रति सन्तुष्ट छन्। कमाइको केही रकम उनले आमाबाबुका लागि छुटाउने गर्छन् भने बाँकी आफ्ना लागि राख्छन्।
स्वयम्भू सरस्वती मन्दिर क्षेत्रमा फोटो खिँच्दै युवाहरु।
शब्द/तस्बिरः नेपाल फोटो लाइब्रेरी