पर्यटकीय तथा धार्मिक महत्त्वको रसुवामा अवस्थित गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट करिव ४,३८० मिटरको उचाइमा अवस्थित सो कुण्डमा दशहरा र जैनपूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ। यस वर्ष भदौ ३ मा परेको जैनपूर्णिमाका लागि श्रद्धालुहरु गोसाइँकुण्ड हिँडिसकेका छन्।
राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँबाट श्रद्धालुहरु गोसाइँकुण्ड पुग्ने गर्छन्। त्यसकारण अन्य दिनको तुलनामा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान् शिवको पूजाआराधना गर्ने श्रद्धालुको बाक्लो भीड हुने गर्छ।
यस वरिपरि अरू १०८ वटा कुण्ड छन्। यसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि हुन्। प्राकृतिक बनावट र कुण्डले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ। साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ।
धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान् श्री शिवले समुद्र मन्थनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल (त्रिशूल धारा) उत्पत्ति भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाह शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशूल धाराको पानी गोसाइँ महादेवलाई सिञ्चन गर्न गएको किंवदन्ती छ। यो कुण्डमा शिव आकृतिको मूर्तिजस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्ड वरिपरि ९ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन्।
त्रिशुली नदीको उद्गम स्थल त्रिशूल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुंगी तथा जडीबुटी आदि गोसाइँकुण्ड क्षेत्रको आकर्षणका रुपमा रहेका छन्।
काठमाडौंबाट विभिन्न बाटा हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ। काठमाडौंबाट धुन्चे हुँदै धुन्चेबाट पैदल यात्राबाट पुग्न सकिने गोसाइँकुण्ड अनि सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक लाग्छ।
सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ। नुवाकोटको घ्याङफेदी–तालु कसेरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ। त्यसैगरी मालाभन्ज्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रा गरेर पनि गोसाइँकुण्ड पुग्न सकिन्छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी